बेलबारी नगरका पाँच प्रमुख राजनीतिक दलहरूले देशमा जेनजी समूहले भदौ २३ र २४ गते अघि सारेको सुशासन र सामाजिक सञ्जाल सञ्चालनको निरन्तरतासम्बन्धी जायज मागप्रति समर्थन जनाएका छन्।

मंगलबार जारी साझा विज्ञप्तिमार्फत दलहरूले उक्त आन्दोलनका क्रममा दिवङ्गत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

विज्ञप्तिमा हाल देशमा उत्पन्न विषम परिस्थितिका कारण बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरूले सामाजिक सञ्जालमार्फत दिएको राजीनामा फिर्ता लिएर पुनः जनसेवामा फर्किनु पर्ने उल्लेख गरिएको छ। साथै, सर्वसाधारण जनताको दैनिक कार्य र सेवामा अविलम्ब लाग्न पनि अपिल गरिएको छ।

त्यस्तै, मोरङ जिल्लाभित्र रहेका जिल्ला र प्रदेशस्तरीय कतिपय सेवाप्रदायक कार्यालयहरू अझै सुचारु हुन नसकेकाले, सम्बन्धित निकायहरूलाई आवश्यक समन्वय गरी ती कार्यालयहरू तुरुन्त सञ्चालनमा ल्याउन आग्रह गरिएको छ।

साझा विज्ञप्तिमा दलहरूले स‌ंघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र नेपालको संविधान २०७२ को संरक्षण तथा निरन्तरताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै, आगामी चाडपर्वहरूको अवसरमा सम्पूर्ण नेपालीहरूमा मङ्गलमय शुभकामना पनि व्यक्त गरेका छन्।

साझा विज्ञप्तिमा हस्ताक्षर गर्ने दलका होम प्र. बास्कोटा, अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बेलबारी नगर कमिटी, अमिर मगर, अध्यक्ष, जनता समाजवादी पार्टी बेलबारी नगर समिति, भुपाल बस्नेत, अध्यक्ष, नेकपा (एकीकृत समाजवादी) बेलबारी नगर कमिटी, शङ्कर गुरुङ, अध्यक्ष, नेकपा (एमाले) बेलबारी नगर कमिटी र छत्र लिम्बू, अध्यक्ष, नेपाली कांग्रेस बेलबारी नगर समिति रहेका छन्।

WhatsApp Image 2025-10-14 at 15.14.31_963bef3e