पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइएको छ। नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका तर्फबाट आइतबार (असोज २६) ब्युरोमा उजुरी दिइएको हो।
केही दिनअघि सुवेदीले एक भिडियो अन्तर्वार्तामा प्रचण्डका विषयमा बोलेका थिए। उनले भदौ २४ गते खुमलटारस्थित प्रचण्डको घर जलाइनुभन्दा दुई दिनअघि नै त्यहाँबाट ‘दुई ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर लुकाइएको जिकिर गरेका थिए।
उजुरीमा ‘डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको’ प्रचण्डको सचिवालयले जनाएको छ।
“यसरी झुट्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको छ। सामाजिक सञ्जालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिँदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरिएको छ।”