मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या भएपछि उनलाई बुधवार बिहान अस्पताल भर्ना गराइएको छ।

नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिका नगर प्रमुख (मेयर) राजेशमान सिंहलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साहको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीरगन्जको नारायणी अस्पतालमा भर्ना गराइएको हो।

बान्ता र पेट दुख्ने समस्या भएपछि साहलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। 

गत शनिवार पक्राउ परेकी किरणको मङ्गलवार साँझदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई राति पनि नारायणी अस्पतालमा पठाइएको र स्वास्थ्यमा सुधार भएपछि अबेर राति नै जिल्ला प्रहरी कार्यालयको महिला सेलमा ल्याइएको बताए।

किरण पक्राउ भएको दिनदेखि नै पानी बाहेकका अन्य खानेकुरा नखाएका कारण स्वास्थ्यमा विभिन्न खाले समस्या देखिएको र आवश्यक परेमा उपचार सुविधा उपलब्ध गराइएको डिएसपी लम्सालले जानकारी दिए। वीरगन्ज नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी किरणलाई अत्यधिक कमजोरी रहेको अस्पतालका चिकित्सक अभिनास श्रीवास्तवले जानकारी दिए। 

किरणले आफू पक्राउ परेको अर्को दिनदेखि नै बान्ता र पेट दुखाइ भएकै कारण केही खानेकुरा नखाएको जानकारी दिइन्। स्वास्थ्यमा अत्याधिक समस्या भएपछि मङ्गलवार साँझ प्रहरीले उपचारका लागि नारायणी अस्पतालमा ल्याएको र स्वास्थ्यमा केही सुधार भएपछि राति १२ बजे पुनः थुनामा ल्याइएको थियो।

बुधवार बिहान फेरी स्वास्थ्यमा समस्या देखिएपछि अहिले उनलाई अस्पतालमै भर्ना गरेर राखिएको छ। बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. २६ सिस्वा महेशपुर घर भई वीरगन्ज महानगरपालिकाको वडा नं. १३ मुर्लीमा डेरा गरी बस्दै आएकी २२ वर्षीय किरणलाई मन्त्री र मेयरलाई धम्की दिएको अभियोगमा भदौ १४ गते प्रहरीले पक्राउ गरेको थियो। किरणको परिवारका सदस्यहरू झाडापखाला भएर अस्पतालमा भर्ना थिए।

सोही विषयमा खानेपानी मन्त्री यादव र वीरगन्जका मेयर सिंहलाई फोन गरी उनले पानी वितरण गर्दा अपनाउनुपर्ने विधि र प्रक्रिया किन नअपनाएको भन्दै कडा आवाजमा कुरा गर्दै धम्की समेत दिएको भनिएको छ।

मन्त्री र मेयरलाई ज्यान मार्ने धम्की दिएको भन्दै खानेपानी मन्त्री यादवका पर्सनल असिस्टेन्ट (पिए) हरिन्द्र यादवले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि किरणलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो।