अफगानिस्तानको पूर्वी भागमा आइतबार राति गएको शक्तिशाली भूकम्पले ८१२ जनाको मृत्यु भएको छ भने २ हजार ८१७ जना घाइते भएका छन्।

भूकम्पको कम्पन अफगानिस्तानको काबुलदेखि पाकिस्तानको इस्लामावादसम्म महसुस गरिएको छ। आइतबार मध्यरात करिब पौने १२ मा गएको ६.० म्याग्नीच्यूडको भूकम्पका कारण मध्यरातमा र पहाडी क्षेत्रमा रहेका कच्ची घरहरू भत्किएपछि सुतेका परिवारका सयौँ सदस्य हताहत भएको जनाइएको छ। भूकम्पको केन्द्रविन्दु जलालाबादबाट करिब २७ किलोमिटर टाढा रहेको छ। भूकम्पका कारण धेरै स्थानमा पहिरो गएको र सीमति रूपमा चल्ने यातायातका साधनको आवागमनमा समेत समस्या भएको छ। 

भूकम्पपछि ठूलो उद्धार कार्य जारी रहेको तालिबान अधिकारीहरूले बताएका छन् । भूकम्पको असर काबुलदेखि छिमेकी पाकिस्तानको राजधानी इस्लामावादसम्मका भवनहरूमा परेको छ।  

भूकम्पले अफगानिस्तानका कम्तीमा पाँच वटा प्रान्तमा हताहती र विनास निम्त्याएको र उद्धारकर्ताहरूले सोमबार साँझसम्म पनि भत्किएका घरहरूबाट मानिसहरूलाई उद्धार गरी हेलिकोप्टरमार्फत् उपचारका लागि नजिकका सहरमा लगिएको छ। भूकम्पको केन्द्रविन्दु नजिकै रहेको कुनारमा मात्रै करिब ८०० जनाको मृत्यु भएको छ भने दुई हजार ५०० जना घाइते भएका छन्।

त्यस्तै, छिमेकी प्रान्त नांगरहारमा १२ जनाको मृत्यु भएको छ भने २५५ जना घाइते भएका छन् भने लगमान प्रान्तमा ५८ जना घाइते भएका छन्।

कुनारको नुर्गल जिल्लाको वादिर गाउँमा आसपासका दर्जनौं बासिन्दाले उद्धारकर्मीहरूलाई भत्किएका घरहरूको भग्नावशेषबाट मानिसहरूलाई बाहिर निकाल्न मद्दत गरेको छ। 

धेरै घाइतेहरूलाई नान्गाहार प्रान्तको जलालाबाद शहरका अस्पतालहरूमा लगिएको छ।