बेलबारी नगरपालिका–४ मा अवस्थित श्री बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । समूहका अध्यक्ष शम्भु भट्टराईको अध्यक्षतामा सभा सञ्चालन भएको थियो भने प्रमुख अतिथिको रूपमा कोशी प्रदेश सांसद मान बहादुर लिम्बु उपस्थित थिए।समुहका अध्यक्ष सभामा आन्तरिक लेखा परीक्षण प्रतिवेदनसहित सिमसारको उत्पत्ति, विकास र वर्तमान अवस्थामाथि विस्तृत समीक्षा गरिएको थियो।
साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार, १७६.०८ हेक्टर क्षेत्रफलमा फैलिएको बेतना सिमसार सामुदायिक वन २०७६ को संघीय वन ऐन, २०७७ को प्रदेश वन ऐन तथा अन्य नीतिगत निर्देशानुसार सञ्चालनमा आएको हो। महेन्द्र राजमार्गसँगै रहेको यस सिमसार क्षेत्र पर्यटन र जैविक विविधताको दृष्टिले पूर्वाञ्चलकै प्रमुख आकर्षणमध्ये एकका रूपमा विकसित भएको उल्लेख गरिएको छ ।
सभामा वक्ताहरुले बेतना सिमसार मानव र प्रकृतिको सहकार्यबाट बनेको भन्दै यस क्षेत्रको विकासक्रमबारे जानकारी प्रस्तुत गरे। प्रारम्भमा किसानहरूले सिचाइको उद्देश्यले खनिएका पोखरीहरू क्रमशः तालमा परिणत भई जैविक विविधताको आश्रयस्थल बनेको उल्लेख गर्दै अहिले यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटनको महत्वपूर्ण गन्तव्य बन्दै गएको तथ्य प्रस्तुत गरेका छन् ।
आन्तरिक लेखापरीक्षण प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८१÷८२ मा समूहको कुल आम्दानी १ करोड १९ लाख ७६ हजार ३५९ रुपैयाँ पुगेको छ। यस अवधिमा वन संरक्षण तथा विकास, सामुदायिक समृद्धि, प्रशासनिक सञ्चालन, योजना कार्यान्वयन र अन्य कार्यक्रम खर्च गरी कुल १ करोड २४ लाख ८२ हजार ५४६ रुपैयाँ खर्च भएको छ। आर्थिक वर्षको अन्त्यमा बैंक मौज्दात ६ हजार १ सय १६ रुपैयाँ र नगद मौज्दात ३६ हजार ३५१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
समूहका सचिव सुजित बस्नेतले आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै गत एक वर्षमा बेतना सिमसारको सौन्दर्यीकरण, संरक्षण, पर्यटक आवागमन वृद्धि, संरचना पुनर्निर्माण र मर्मतजस्ता काम गरिएको उल्लेख गर्दै सचिव बस्नेत भने,“हामी सबै वडावासीसँग मित्रता गर्दै बेतनाको वृहत विकासमा निरन्तर लागिरहेका छौं। यद्यपि, अपेक्षित स्तरमा निर्माण गर्न अझ चार वर्ष समय बाँकी छ, र सबैको सहयोगले यो सम्भव छ भन्नेमा म विश्वस्त छु।सचिव बस्नेतले २०८२ सालको नयाँ वर्षमा फुड फेष्टिभल आयोजना गरी प्रदेशस्तरीय पर्यटन वर्ष अघि नै बेतना सिमसारलाई परिचित गराउन सकिएको जानकारी पनि दिए।हाल सिमसारमा १२ जना कर्मचारी कार्यरत रहेको, मिनि बाल उद्यान, विश्रामस्थल, झुला पिङ, आकर्षक सेल्फी स्पट, नयाँ पानीकल र मर्मत गरिएको शौचालयजस्ता सुविधा निर्माण गरिएको उनले प्रतिवेदन मार्फत प्रस्तुत गरेका छन् ।
समूहका अध्यक्ष सम्भु भट्टराइले पाँचौं साधारणसभामा विगत वर्षका उपलब्धिहरू प्रस्तुत गर्दै बाँध पुननिर्माण, नौका मर्मत, सुरक्षा तथा मनोरञ्जन सुविधाको विस्तारमा ध्यान दिएको जानकारी दिएका छन्।

सभाले आगामी १० वर्षे दिगो विकास योजना प्रस्तुत गर्दै संरक्षण, पारदर्शिता र पर्यटन प्रवद्र्धनमा जोड दिने प्रतिबद्धता जनाएको छ। अध्यक्ष भट्टराइले सदस्य र साझेदारहरूको सहयोगमा अधुरा काम पूरा गरी समग्र व्यवस्थापन सुदृढ गर्ने लक्ष्य पनि राखिएको बताए।
समुहकी कोषाध्यक्ष विन्दु कला गुरुङले बार्षिक आय.ब्या प्रस्तुत गरेकी थिइन्।