बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनलगत्तै सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
समितिले उनीसँग प्राधिकरणको अध्यक्ष बन्ने योग्यता नरहेको र फर्जी कागजात बुझाएर नियुक्ति लिएको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो।
प्रतिवेदनका अनुसार, बीमा प्राधिकरणको अध्यक्षका लागि उनको योग्यता अपर्याप्त रहेको, कानुन अनुसारको योग्यताका लागि सम्बन्धित क्षेत्रमा थप काम गर्नुपर्ने र कार्यक्षमता लगायतका विषयमा प्रश्न उठाउँदै समितिले प्रतिवेदन बुझाएको थियो।
कञ्चनपुर घर भएका ओझालाई अध्यक्षमा नियुक्त गरेको थियो।ओझालाई सरकारले गत १२ फागुनमा बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो। उनको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा रिट दायर गरेकी थिइन्।