नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले सहिद, बेपत्ता परिवार, घाइते योद्धाहरू आफ्नो पार्टीका लागि शक्तिको स्रोत रहेको बताएका छन्। 
सोमबार सहिद रितबहादुर खड्का ‘प्रताप’ को १३औँ स्मृति कार्यक्रममा बोल्दै उनले विभिन्न अभियानमा जाँदा सहिद, बेपत्ता परिवार, घाइते योद्धाहरूलाई ऊर्जाको रूपमा लिएको बताएका हुन्। 
उनले भने, ‘फागुन १२ देखि हुलाकी मार्ग केन्द्रित अभियानमा गयौँ र त्यसैगरी लोकमार्ग केन्द्रित अभियान पोखरामा समापन गरेका छौ। यी अभियानका लागि शक्तिको स्रोत जनता नै हुन्। त्यसमा पनि शीर्ष स्थानमा सहिद, बेपत्ता परिवार, घाइते योद्धाहरूलाई राख्यौँ। उहाँहरूको वेदनाहरू सविस्तार सुन्यौ। उहाँहरूलाई सुन्दा हामी संवेदनशील भयौँ।’ 
प्रवक्ता सापकोटाले अभियानका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता भएकालाई पनि सहिद घोषणा गरिने भनेर दिनुभएको अभिव्यक्तिले बेपत्ता परिवारका सदस्यमा चमक आएको बताए। 
‘बेपत्ता परिवारमा महिलाहरूले व्यक्त गरेको कुरा सुन्दा मर्माहित भयौ। आफ्नो श्रीमान् साँझतिर आउनुहुन्छ की बिहान आउनुहुन्छ की भन्ने लागिरहेको अनुभव सुनाउनुहुन्छ। सोही क्रममा अध्यक्षले बेपत्ता भएका व्यक्तिलाई पनि सहिद नै हो भन्ने अभिव्यक्ति दिनुभएकाले उहाँहरूमा चमक देखियो। त्यो नै सबैभन्दा ठुलो ऊर्जाको विषय हो,’ उनले भने। 
त्यसैगरी नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अभियानले नागरिकमा उत्साह बढेको भन्दै अहिलेको सरकारले जनताका असन्तुष्टि पैदा गरेको बताए। 
‘अहिलेको सरकार भ्रष्ट र निरङ्कुश छ। जसले देशमा आजको आवश्यकता पूरा गर्ने कुरा छाडौँ देशलाई सङ्कटको दिशातिर धकेलिरहेको छ। यसैको जगमा टेकेर गरेका गलन कामले जनताका असन्तुष्टि बढेको छ। त्यस कारण प्रतिगामी शक्तिहरू सल्वलाइरहेका छन्,’ उनले भने।