सैलुङ अल्ट्रा रेसको तेस्रो संस्करण शनिवार सम्पन्न भएको छ। सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजनामा प्रतियोगिता भएको हो। प्रतियोगितामा महिला र पुरुष खुल्ला ५५ किमी र पाँच किमी दौड समावेश गरिएको थियो। 
सुनापाति ३ साँदीडाँडाबाट सुरु भई सुनापाति डाँडा, लहरे माने, भागे डाँडा, खाँडादेवी मन्दिर, गाल्पा भन्ज्याङ, अग्लेश्वर डाँडा, दोरम्बा बजार, सहिद पार्क, डाँडाकटेरी, घले डाँडा हुँदै सैलुङमा पुगेर खेल सम्पन्न भएको थियो। 
एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा प्रतियोगिताको ५५ किमी दौड रामेछापको उमा कुण्ड गाउँपालिका घर भएका त्रिभुवन आर्मी क्लबका तिलक सुनुवारले जितेका छन्।
उनले ५५ किलोमिटरको दुरी ५ घण्टा ७ मिनेटमा पार गरेका हुन्। सुनुवारले विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार जितेका छन्। 
प्रतियोगितामा ताप्लेजुङ घर भएका नेपाल आर्मीका चन्द्रबहादुर लिम्बु उपविजेता बनेका छन्। उनले सो दुरी ५ घण्टा ८ मिनेटमा पार गरे। उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। 
यस्तै तेस्रो हुने नेपाल आर्मीकै सोलुका अर्जुन कुलङले २५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन्। उनले पाँच घण्टा ११ मिनेटमा सो दुरी पार गरेका हुन्। 
प्रतियोगितामा चौथो हुनेले १० हजार र पाँचौँ स्थानमा रहनेले ५ हजार रुपैयाँ जितेका छन्। छैटौँदेखि १० औँ स्थानमा आउनेले जनही एक हजार रुपैयाँ पाएका छन्। 
यस्तै ५ किलोमिटर दुरीको विजेता नेपाल आर्मीका अर्जुन बुढाले १२ हजार नगद पुरस्कार पाएका छन्। बुढाले सो दौड १८ मिनेट ४० सेकेन्डमा पुरा गरेका थिए।  
उपविजेता आर्मीकै सूर्यराज राईले १९ मिनेट १७ सेकेन्डमा दुरी पुरा गरी ८ हजार रुपैयाँ नगद प्राप्त गरेका छन्। तेस्रो हुने नेपाल आर्मीका बुद्धराम तामाङले २० मिनेट ८ सेकेन्डमा दुरी पुरा गरी ५ हजार नगद प्राप्त गरेका छन्। 
सो प्रतियोगितामा चौथो हुनेले ३ हजार र पाँचौँ हुनेले २ हजार रुपैयाँ पुरस्कार पाएका छन्। छैटौँदेखि १० औँ स्थानमा रहनेले जनही १ हजार रुपैयाँ प्राप्त गरेको छन्।