ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
यस आयोजनाको प्रवर्द्धक कम्पनी सौर्य होल्डिङ प्रा.लि. र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो।
उक्त सम्झौताअनुसार आयोजनामा ग्लोबल आइएमई बैङ्कको अगुवाइ र लक्ष्मी सनराइज बैङ्कको सहभागितामा बनेको कन्सोर्टियमले चार अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेस अफिसर कल्याण विक्रम पाण्डे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेस अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङ प्रा.लि.का प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका थिए।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन वृद्धि भई निर्यात प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
ताप्लेजुङ जिल्लाको माथिल्लो मेवा खोलामा निर्माण हुने ३१.९२ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ।
सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्ने छ। यो आयोजना निर्माण सुरु भएको मितिबाट तीन वर्ष भित्र सम्पन्न हुने छ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको वेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रुपमा सम्मानित बैंक हो।
साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक फरक विधामा सम्मानित भएको छ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैङ्कको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।