भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनका लागि उडान भरिरहेको एयर इन्डिया फ्लाइट AI-171 बिहीबार दिउँसो टेकअफको क्रममा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनापछि उक्त विमानस्थल केही समयका लागि बन्द गरिएको छ।
बोइङ ७८७ ड्रीमलाइनर विमान अपराह्न करिब १ः३८ बजेको भारतीय समय अनुसार उडान भरेको केही क्षणमै दुर्घटना भएको हो। प्रारम्भिक विवरणअनुसार विमानमा जम्मा २४२ जना सवार थिए। जसमा १२ चालक दलका सदस्यहरू थिए।
जसमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, ७ जना पोर्चुगली नागरिक र एक जना क्यानाडाली नागरिक रहेका थिए।
विमानले रनवे २३ बाट उडान भरेको दुई मिनेटमै एअर ट्राफिक कन्ट्रोल (एटीसी) ले आपतकालीन सङ्केत जानकारी दिएको थियो। तर, त्यसपछि ककपिटबाट कुनै सम्पर्क प्राप्त हुन सकेन।
प्रारम्भिक रिपोर्टअनुसार विमानको पछाडिको भागले एउटा रुखमा ठोक्किँदा नियन्त्रण गुमेर विमान विमानस्थलको परिधिबाहिर खसेको हो। त्यसपछि विमान नजिकैको संरचनामा ठोक्किएको र घटनास्थलबाट बाक्लो कालो धुवाँ उडेको बताइएको छ।
दुर्घटनापछि उद्धार तथा दमकल टोली तुरुन्तै घटनास्थलमा पुगेका थिए। केही यात्रु र चालक दलका सदस्यहरू घाइते भएको प्रारम्भिक जानकारी आएको छ, यद्यपि कति घाइते छन् र तिनीहरूको अवस्था कस्तो छ भन्ने विषयमा पुष्टि हुन बाँकी छ।
घट्नापछि विजयवाडामा रहेका केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडू अहमदाबाद पुगेका छन्।