वीरेन्द्रनगरमा जारी १६ वर्षमुनिको टी।बी स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत दसौँ दिन भएका खेलमा घरेलु टोली कर्णाली र बागमतीले शानदार जीत हात पारेका छन्।
वीरेन्द्रनगर मैदानमा भएको खेलमा कर्णालीले गण्डकीलाई १ सय ५८ रनले घर फर्काउँदा कालुंगचोक मैदानमा बागमतीले ७ विकेटको फराकिलो जीत निकाल्दै आफ्नो प्रभाव कायम राखेको हो।
प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीलाई दसौँ दिन प्रतिद्वन्द्वी पाएको घरेलु टोली कर्णालीले प्रतियोगिताअन्तर्गत भएका आफ्नो खेल अवधिको सर्वाधिक २ सय ३३ रन जोडेको हो।
पहिला टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा जम्मा ३६ ओभरसम्म खेल्दा सबै विकेट गुमाएको कर्णालीले बनाएको स्कोरमा विजय बोहोराको नट आउट ८८ रनको सम्झन लायक योगदान रह्यो।
क्रिजमा खास्सै जम्न नसकेको कौस्तुभ खडका र नेत्रविक्रम खत्रीको ओपनर जोडी क्रमशः ११ र १ रनमा पवेलियन फर्किएपछि तेस्रो नम्बरमा आएका नवीन न्यौपानेले अर्धशतकीय पारी खेल्दै टिमलाई सम्हाले।
रिदम पाण्डेको बलमा विनय कार्कीको हातबाट स्टम्प्ड हुनुअघि नवीनले १ सय ३४ को स्ट्राईक रेटमा ९ चौका र १ छक्कासहित ३८ बलमा ५१ रनको अर्धशतकीय पारि खेल्दै जीतको पहिलो कोशेढुंगा खडा गरे।
त्यसपछि क्रिजमा आएका भूपेन्द्रजंग शाही २ रन र रोशन शाहीले १७ रन बनाउँदै डगआउट फर्किएपछि मिर्डर सम्हाल्न आएका नमनसिंह थापाले ४९ बलमा ४२ रन  जोडेर टिमलाई मजबुत स्थितितर्फ डोर्‍याए।
मिडल अर्डर सम्हाल्न आएका नमनको दह्रो साथ पाएका कर्णालीका विजय बोहोराले ५८ बलको सामना गर्दै १ सय ५१ को स्ट्राईक रेटमा ८ चौका र छ छक्कासहित अविजित ८८ रन बटुल्दै टिमलाई जीत नजिक पुर्‍याए ।
खेललाई १५ औँ ओभरबाट सम्हालेका विजय र नमनले २८ दशमलव ३ ओभरसम्म डोर्‍याउँदै छैठौं विकेटका लागि ८४ रनको महत्त्वपूर्ण साझेदारी गरे।
गण्डकीका लागि टाउको दुखाई बन्दै गएको यो साझेदारी तोड्न सफल भएका सुशील भट्टराईले ६ चौका र १ छक्का ठोकेका नमनलाई बोल्ड गर्दै टिमलाई राहत दिलाए।
गण्डकीका लागि ८ ओभर बलिंग गरेका सुशील भट्टराईले २ मेडन ३४ डटसहित ४४ रन दिएर ४ विकेट लिए भने अनिश राउते २ मेडन ३७ डटसहित ३  विकेट लिँदा करण गैरेको नाममा १ विकेट रह्यो। 
विनय कार्की विजय बोहोराको एलब्यूडब्ल्यूको सिकार भएका विनय कार्की गोल्डेन डक भएर फर्किए लगत्तै कप्तान विपिन शर्माले ११ बलसम्म डट खेलाउँदै अर्का ओपनर रोज श्रेष्ठलाईपनि खाता खोल्ने मौकै नदिई बोल्ड गराए।
अर्को ओभरमा जम्मा ५ रन जोडेका प्रतिक रावललाई एलबीडल्यूको सिकार बनाएका विपिनलाई उछिन्दै विजयले फेरि सुप्रिम सुनारलाई १ रनमा एलबीडब्ल्यू र भुवन भट्टराईलाई ६ रनमा बोल्ड गराए। 
त्यसपछिका ब्याटरहरुमध्ये क्रमशः अनिश रावतलाई रोशन शाहीले कौस्तुभको हातमा ५ रनको स्कोरमा क्याच गराउँदा रमित कँडेल र रिदम पाण्डेले खाता खोल्ने मौका पाएनन्। 
राज परियाले ३३ बलमा २३ रन र करण गैरेले सान्तन्वनास्वरुप २१ रन जोडे पनि जीतको लागि पर्याप्त भएन। उता कालुंगचोक मैदानमा भएको अर्को खेलमा बाग्मतीले लुम्बिनीमाथि शानदार रूपमा ७ विकेटको जीत निकाल्दै प्रतियोगितामा आफ्नो दबदबा कायमै राखेको छ।
टस जितेर पहिला ब्याटिंग गर्न आएको लुम्बिनीलाई सुरुदेखि दबाबमा राखेको बाग्मितले निर्धारित ५० ओभरको खेलमध्ये जम्मा २१ दशमलव ५ ओभरमा १ सय १३ रनको सामान्य स्कोरमा लुम्बिनीलाई अलआउट गरायो।
लुम्बिनीका ओपनर समीर अली मुसलमानले ५८ बलमा १० चौकासहित ५५ रनको गतिलो सुरुवात दिलाए पनि तेस्रो नम्बरका रोजन कुमालले १२, आठौँ क्रमका देव्यांश वर्माले १० रन जोड्दा लुम्बिनीका हिटरको छवि बनाएका रौनक श्री वास्तव सुशील साउँदको बलमा अभी थपलियालाई ९ रनको व्यक्तिगत स्कोरमा क्याच थमाएपछि लुम्बिनी ठाडो उठ्नै सकेन।
बाग्मतीका बलर सामु निरिह देखिएका लुम्बिनीका बाँकी रहेकामध्ये ३ जनाले ५ रनभन्दा बढी जोड्न सकेनन् भने ४ जना शून्यैमै सीमित भए। १ सय १४ रनको सहज लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बाग्मतीले २५ ओभर १ बलमा जम्मा ३ विकेट गुमाउँदै सजिलै लक्ष्य पूरा गरेर आफ्नो वर्चश्व कायम राख्यो।
बाग्मतीका लागि ओपनिंग गरेका सूर्यांशु कोइरालाले ५७ बलमा ७ चौका र २ छक्कासहित ५४ रनको बलियो पारी खेल्दै टिमको जीतको मजबुत जग बसाले।
१६ ओभर ३ बलसम्म क्रिजमा टिकेका सूर्यांशुलाई शुभम् कोइरालाले फालेको बलमा प्रेम सागर यादवले क्याच आउट गर्नुअघि सूर्याशुले टिमका लागि आफ्नो जिम्मेवारी पूरा गरिसकेका थिए।
२६ बलमा ११ रन जोडेका दोस्रो नम्बरका ब्याटर प्रसिद्ध जैसीलाई लक्ष्मण कुमालले प्रेम सागरमार्फत नै क्याच गराएपछि क्रिजमा आएका जोय थापाले २८ रन जोड्दै टिमलाई जीतको मुखैमा पुर्‍याए।
१२ रन अतिरिक्त पाएको बागमतीका लागि शिवशक्ति महतोले ९ रनसहित फिनिसिङ गरे। राउण्ड रोविन चरणको करिब करिब अन्तिमतिर आई पुग्दा खेलिएका जम्मा ६ खेलमध्ये १ मा मात्र हारेको बाग्मती १० अङ्कसहित पहिलो अङ्कमा रहँदा ६ खेलमा ४ खेल जितेको मधेस ८ अङ्कसहित दोस्रोमा छन्।