अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी परेको छ।

युवराज सफलले बिहीबार मेयर शाहविरुद्ध महानगरपालिका कार्यलयमा जडान गरिएको ‘लिफ्ट’ मा अनियमितता भएको दाबी गर्दै अख्तियारमा उजुरी दायर गरेका हुन्। 

उजुरीमा केही महिना अघि महानगरमा प्रतिस्पर्धा, टेण्डर र कोटेसन बिना झण्डै एक करोड रुपैयाँ मूल्य बराबरको ‘लिफ्ट’ जडान गरेको दाबी सफलले गरेका छन्।

‘काठमाडौं महानगरपालिकाले नयाँ लिफ्ट जडान गरेको प्रति म उजुरीकर्ताको विरोध हैन तर लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९११० बोलपत्र सम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरित बिना प्रतिस्पर्धा बिना टेण्डर र बिना कोटेसन अपारदर्शी अनियमित तरिकाले जोडिएको प्रति मेरो आपत्ति हो,’ उनले उजुरीमा लेखेका छन्। 

‘लिफ्ट’ जडानसम्बन्धी टेन्डर बोलपत्रलगायतका आवश्यक कागजात निर्माण कम्पनीको विवरण, निर्माण स्वीकृत गर्दाका सम्पूर्ण फाइल, भुक्तानी विवरण, बिल–भौचरलगायतका कागजात झिकाएर महानगरमा भएको अनियमितता र भ्रष्टाचारको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाहीका लागि उजुरी दिएको सफलले बताएका छन्।