कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले रसायनिक मलको सहज व्यवस्थापन हुनसक्ने अवस्था अहिलेको समयमा नरहेको बताएका छन्।
आइतबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले १३ लाख टन रसायनिक मल बजारमा आवश्यक रहेकाले अहिले साँढे चार लाख टन मात्रै रसायनिक मल उपलब्ध रहेको बताएका हुन्।
उनले भने, ‘रसायनिक मलको सहज व्यवस्थापन हुन सक्ने अवस्था अहिलेको समयमा छैन। १३ लाख टन रसायनिक मल बजारमा आवश्यक छ। हामीसँग साँढे ४ लाख टन मात्रै रसायनिक मल छ। हामीले रसायनिक मलको व्यवस्थापन गर्न सकेका छैनौँ। कारण के हुनसक्छ भन्दा आर्थिक रूपले नै हामी त्यो व्यवस्थापन गर्न सकिरहेका छैनौँ।’ 
साथै उनले रसायनिक मलका लागि बजारमा जुन ढङ्गको आलोचना भइरहेको छ त्यसलाई स्वभाविक रूपमा स्वीकार गर्दै प्राप्त भएका रसायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नुपर्ने बताए।
उनले रसायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नका लागि प्रदेशलाई जिम्मेवारी सुम्पिएको र आवश्यकताका आधारमा प्रत्येक स्थानीय तहमा पुर्‍याइने बताए।
उनले भने, ‘आर्थिक रूपमा हामी चाहिँ रसायनिक मलका लागि जति व्यवस्थापन गर्न सक्नुपर्थ्यो त्यो सकेका छैनौँ। सहज व्यवस्थापन हुन सकेको छैन र बजारमा जुन ढङ्गको आलोचना भएको छ त्यसलाई हामीले स्वभाविक रूपमा स्वीकार गर्दै प्राप्त भएका रसायनिक मललाई निष्पक्षताका साथ व्यवस्थापन गर्नका लागि हामीले  प्रदेशलाई जिम्मेवारी सुम्पिएका छौँ। प्रदेशमार्फत प्रत्येक स्थानीय तहमा आवश्यकताका आधारमा व्यवस्थापन गर्ने काम गरेको छौँ मन्त्रालयको तर्फबाट।’