शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रद्युजी पन्तले नयाँ प्रविधिको प्रयोगमा नजाँदा कतिपय कामको प्रक्रियाहरू लामो हुने समस्या रहेको बताएका छन्।
शुक्रवार काठमाडौँमा आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्र सम्बन्धित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले परम्परागत प्रक्रियालाई तोडेर नयाँ प्रविधिमा जाँदा कामको प्रक्रियालाई छोटो र सहजतामा रूपान्तरण गर्न सकिने बताएका हुन्।
उनले भने,‘शिक्षा एउटा अपरिहार्य र महत्त्वपूर्ण विषय हो। मैले के अनुभव गरेको छु भने अहिले पनि हाम्रो राज्यको तर्फबाट उपलब्ध गराउनुपर्ने न्यूनतम सुविधाहरू पनि उपलब्ध गराउन सकेको अवस्था छैन। केही हाम्रो आर्थिक अवस्था त्यस्तै छ त्यहीमाथि काम गर्ने प्रक्रिया असाध्यै लामो छ। जुन परम्परागत प्रक्रिया छ त्यसलाई पनि तोड्न सकेको छैनौँ। नयाँ प्रविधिमा जाँदा रूपान्तरण गर्न सकिन्छ कि भन्ने हाम्रो चाहाना छ। तर अझै पनि भएको छैन।’
त्यस्तै उनले, आजको छलफलले समावेशी शिक्षाको नीतिगत व्यवस्थालाई अझ परिमार्जन गर्ने पनि बताए। कतिपय प्रावधानमा संशोधनको माग आउँदा संशोधन र परिमार्जन गर्न हिचकिचाउन नहुने पनि उनको भनाई छ।
उनले भने,‘हाम्रो आजको छलफलले समावेशी शिक्षाको नीतिगत व्यवस्थालाई अझ परिमार्जित गर्छौँ। आजको छलफलले यसका कतिपय प्रावधानमा संशोधनको माग गर्छ भने हामी संशोधन र परिमार्जन गर्न हिचकिचाउन पर्ने केही छैन।’
मन्त्री पन्तले बनेका राम्रा नीतिहरू थन्किएर बसेको भन्दै व्यवहारमा लागू हुन नसकेको धारणा राखे।