आज युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औँ जन्म जयन्ती उनको सम्झनामा मनाईंदै छ।
वि.सं १९६९ साल जेठ ९ गते युगकवि श्रेष्ठको जन्म ओखलढुङ्गामा भएको थियो। सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कवि रत्नका रूपमा चिनिन्छन्।
हरेक वर्ष ज्येष्ठ शुक्ल पञ्चमीका दिनमा युगकवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती मनाउने गरिन्छ। 
सिद्धिचरणको मेरो प्यारो ओखलढुगां कविता त झन् जन्मस्थल छाडेर बेग्लै कर्म स्थलमा आइपुगेका नेपालीहरूको जन्मस्थलको एउटा थेगो गान नै भएको छ। 
कविताको भावमा डुबेर छन्दहरू हुनु र नहुनुमा खासै फरक नपर्ने गरी मर्महरू थप्दै नारायण गोपालले दुरुस्तै गाएका छन्, यस कवितालाई गीतमा। ओखलढुगां र कवि श्रेष्ठ यति धेरै जोडिएका छन् कि ओखलढुगां र कटारी जोड्ने राजमार्ग पनि यिनै कविको सम्झनामा सिद्धिचरण राजमार्गका रूपमा नामाकृत गरिएको छ। भाग्यको लहरामा लहरिकन आफ्नो जन्मस्थान छाडेर अन्यत्र आएका नेपालीहरूको बेथाको समभाव छ यस कवितामा।
नेपाली अनि नेवारी दुवै भाषामा उनका कविताहरू पाइन्छ, दुवै भाषाका प्रखर ज्ञान भएका युगकवि सिद्धिचरण श्रेष्ठ आफ्ना अभिव्यक्तिहरूमा समाजको वास्तविक चित्रण गर्न र सुधारवादी धारहरू ल्याउन तल्लीन देखिन्छन्। उनका कवितामा सबैको भलो होसर जय होस भन्ने भावहरू पाइन्छ।
आफ्नो कवितामा क्रान्ति भन्ने शब्द प्रयोग गरेकाले कवि श्रेष्ठलाई राणा शासकहरूले १८ वर्ष जेल तोको थिए। पिताको किरियामा समेत उनलाई जेलनेलवाट मुक्त गरिएन।  
नेपाली भाषामा भने उर्वशी, मेरो प्रतिबिम्ब, आँसु, कोपिला, विश्व बेथा, मगंल मान, जुनकिरी, कुहिरो र घाम, बाची रहेको आवाज, ज्यानमारा सैल, तिरीमिरीतन्त्र, वाली, भीमसेन थापा, युद्ध र शान्ति, आत्मा बिलौना, सिद्धिचरणका प्रतिनिधि कविता र सिद्धिचरणका जेल सम्झना पर्दछन्। नेवा भाषामा भने लुम्बिनी, तृष्णा, फु स्वाँ, सि स्वाँ, ग्वयस्वाँ, मुस्वाँ, सिद्धिचरण निबन्ध सङ्ग्रह र घाम आदि पर्दछन्।