उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
आइतबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले खाद्य व्यापार तथा व्यवस्थापन कम्पनी लिमिटेडले अब जिल्ला स्तरमा नै रैथाने बालीको संरक्षण गर्ने र ७५३ वटा पालिकाहरूसँग खाद्य व्यापार कम्पनीले सम्झौता गर्ने बताएका हुन्।
उनले भने, ‘औद्योगिक पूर्वाधारको विकास गर्नुपर्ने छ। खाद्य व्यापार तथा व्यवस्थापन कम्पनी लिमिटेडले अब जिल्ला स्तरमा नै रैथाने बालीको संरक्षण गर्ने र ७५३ वटा पालिकाहरूसँग खाद्य व्यापार कम्पनीले सम्झौता गरेको छ। ती पालिकामा उत्पादन भएका वस्तुहरूलाई खाद्य व्यापार तथा व्यवस्थापन कम्पनी लिमिटेडले खरिद गर्ने र त्यहाँ जे चिजको आवश्यकता छ त्यो खाद्य व्यापारले पूरा गर्ने योजनाका साथ काम गरिरहेको छ। अहिले करिब एक सय वटा पालिकाहरूसँग सम्झौता गरिसकिएको छ।’
साथै उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग विनियोजित बजेट आठ अर्ब २० करोडको आसपासमा रहेको बताए। उनले जबसम्म नेपालको जिडिपीमा उद्योग र उद्यमशीलताको योगदान हुँदैन तबसम्म आजका चुनौतीहरूको सामना गर्न नसकिने बताएका छन्।
उनले भने, ‘हामीले चुनौतीहरूलाई अवसरमा बदल्नुपर्छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग विनियोजित बजेटको ०.४ प्रतिशत हामीसँग बजेट छ। आठ अर्ब २० करोडको आसपासमा बजेट छ। कुनै बेला नेपालको जिडिपीमा १३ प्रतिशतको योगदान थियो उद्योग क्षेत्रको आज हामी पाँच प्रतिशतको आसपासमा छौँ। जबसम्म नेपालको जिडिपीमा उद्योग र उद्यमशीलताको योगदान हुँदैन तबसम्म आजका चुनौतीहरूको सामना गर्न सकिँदैन। त्यसैले यसलाई विशेष प्राथमिकतामा राख्नुपर्छ।’