जुम्लाको गुठिचौर गाउँपालिका–२ को झुलेनी भन्ने ठाउँमा चट्याङ लागेर २१ वटा भेडा बाख्रा मरेका छन्। शनिवार साँझ ५ बजे रुखमुनि बसेका बेला चट्याङ पर्दा भेडा बाख्रा मरेका हुन्।
गुठिगाउँका किसान हिरबहादुर ऐडीका १६ र धनकृष्ण रोकायाका पाँच वटा भेडा बाख्रा चट्याङमा परेर मरेको गुठिचौर–२ का पूर्ववडाध्यक्ष तथा स्थानीय धनबहादुर बोहोराले बताए।
घरमा ल्याउन रुखमुनि जम्मा गरी राखिएको अवस्थामा चट्याङ परेको थियो। हिरबहादुरका ५० वटा र धनकृष्णका ३० वटा भेडा बाख्रा छन्। उनीहरूको घर खर्च भेडा बाख्राबाटै चल्ने गरेको छ।
चट्याङमा भेडा बाख्रा मरेपछि किसानहरू दुःखी भएका छन्। गुठिगाउँमा रहेका १७५ घरधुरीमध्ये एक सय भन्दा बढी परिवारले भेडा बाख्रा पाल्ने गरेका छन्।
गाउँमा करिब ३,५०० भेडा बाख्रा रहेको बोहोराले बताए। उनका अनुसार एउटा भेडा बाख्राको मूल्य कम्तीमा १० हजारदेखि अधिकतम २५ हजार रुपैयाँसम्म पर्ने गर्छ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडा पालन हुने ठाउँ गुठिचौरको पूर्वी क्षेत्र हो। पाटन र खर्कमा व्यवस्थित भेडी गोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडा बाख्रामा ठुलो क्षति हुने गरेको कार्यालयले जनाएको छ।
भेडा बाख्रा चट्याङबाट मरेपछि घर खर्च चलाउन समस्या भएको किसानहरूले बताएका छन्। किसान हिरबहादुर ऐडीले भने, ‘यो पेसाबाट घर खर्चदेखि छोराछोरीको पढाइ खर्च सहज रूपमा चलेको थियो।’
गुठिचौर–२ का वडाध्यक्ष दीपबहादुर ऐडीले स्थानीय सरकारबाट सम्भव हुने सहयोग गरिने बताए। वडामा रकम नभएकाले गाउँपालिकाको विपद् शाखामा कुरा राख्ने उनको भनाइ छ।