प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको चलचित्र ‘के घर के डेरा : घर नं २’ले दोस्रो दिन दर्शकको राम्रो साथ पाएको छ।
शनिवार देश भरका हलमा यो चलचित्रले दर्शकको राम्रो साथ पाएको छ। निर्माण पक्षका अनुसार शनिवार देशभरका हलमा ७० देखि ९० प्रतिशत अकुपेन्सीमा ‘के घर के डेरा : घर नं २’ चलेको हो।
‘आज ७० देखि ९० प्रतिशतसम्म दर्शकको अकुपेन्सी देखियो। हाम्रो चलचित्रको जनरा र विषय अनुसार दर्शकको साथ पाउँदै गएको छ,’ निर्देशक दीपेन्द्र के खनालले भने।
चलचित्रको विषय र कलाकारको काम दर्शकले मन पराएको उनले बताए। निर्देशक खनाल भन्छन्, ‘कलाकारको काम र विषयको दर्शकले खुलेर तारिफ गर्नुभएको छ। सामाजिक कथावस्तुमा दर्शकको गहिरो रुचि छ भन्ने यसले पुष्टि गर्छ।’
चलचित्रको मुख्य पात्रमध्येका एक खगेन्द्र लामिछानेले दर्शकले देखाएको माया र गरेको प्रेमले आफूलाई थप उत्साहित बनाएको बताए।
‘दर्शकले पशुपतिप्रसादपछि कै सबैभन्दा राम्रो काम यो चलचित्रमा देखियो भन्नुभएको छ,’ खगेन्द्र भन्छन्, ‘दोस्रो दिनबाटै आएको यो साथ र प्रेम हाम्रो टिमका लागि खुसीको कुरा हो।’
चलचित्रले उत्कृष्ट वर्ड अफ माउथ पाउँदै गएको छ। त्यसको प्रभाव हलमा देखिएको निर्देशक खनालले बताए।
दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र शुक्रवारबाट देशभरका हलमा प्रदर्शन भइरहेको छ। चलचित्रको कथा साहित्यकार बुद्धि सागरले लेखेका छन्।
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ।
‘के घर के डेरा : घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो।
कृष्णबहादुर थापाको सिनेमामा छायाङ्कन रहेको ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्।