राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारको परराष्ट्र र श्रम मन्त्रालयले पछिल्लो समय कुनै काम नगरेको बताएका छन्।
आइतबार प्रतिनिधि सभामा बोल्दै उनले नेपाली युवाहरू विदेशमा बन्धक हुँदा पनि मन्त्रालय मौन बसेको भन्दै यस्तो बताएका हुन्।
‘हामी नेपाली नपुगेको कुनै देशका सहर छैन, झण्डै ८० लाख युवाहरू अर्काको देशमा काम गर्न बाध्य छन्। श्रम, परराष्ट्र मन्त्रालय मौन भएर बसेका छन्। नेपालीहरू बन्धक हुँदा पनि श्रम मन्त्रालयले काम गरेको छैन,’ उनले भने।
उनले विदेशी भूमिको युद्धहरू नेपालीहरू पटक पटक मर्नुपर्दा पनि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएको बताए।
उनले भने, ‘पछिल्लो पटक भारत र पाकिस्तानको युद्धमा पनि नेपाली नै मरे, रुस र युक्रेनको युद्ध भयो। नेपाली नै मरे। प्यालेस्टाइन र इजरायलको युद्धमा पनि नेपाली नै मरे। यो कस्तो गरिबी हो यो कस्तो बेरोजगारी हो। सरकार मौन छ।’
उनले विदेशमा बसेकाहरूले पठाएको रेमिट्यान्सले नै सांसदहरू, प्रधानमन्त्री, मन्त्री, कर्मचारीहरूले तलब पाएको भन्दै नुनको सोझो गर्नुपर्ने बताए।
‘आज हामी संसदहरु, प्रधानमन्त्री, मन्त्री, कर्मचारी सबैको तलब विदेशमा बसेकाहरूले पठाएको रेमिट्यान्सबाट प्राप्त भएको छ। हामीले नुनको सोझो गर्नुपर्छ नि पर्दैन र।यहाँ श्रम र परराष्ट्र मन्त्रालय छ तर आज कति नेपालीहरू ठगीमा परेका छन्। यदि मन्त्रालयको काम हुँदैन भने मन्त्रालयको काम छैन,’ उनले भने।