नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हरेक ठाउँमा बिचौलियाहरूको बिगबिगी बढेको बताएका छन्।
आइतबार डा. सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले देशको राजनीति परिस्थिति एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा बिचौलियाहरूको बिगबिगी बढेको बताएका हुन्।
‘अहिलेको देशको राजनीतिक परिस्थिति एकदमै नाजुक छ। दिनदिनै खराब हुँदै गइरहेको छ। बिचौलियाहरूको बिगबिगी भएको छ। हरेक ठाउँ वा हरेक तप्काका बिचौलियाहरू बिगबिगी छ। तर यो सरकार निर्माण गर्दा जुन कल्पना गरिएको थियो त्यो हामीले अगाडि बढाउनै सकेनौँ। काम नै भएको छैन।’
उनले देशको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नभएको बताए। उनले राजनीतिक नेतृत्वमा इच्छाशक्ति भए देश बन्ने बताए।
‘देशको अर्थतन्त्रसँग खेल्ने, मजाक गर्ने अधिकार कसैलाई छैन। उहाँहरू (सरकार)ले सुशासन दिन्छौ, देशमा भ्रष्ट्राचार न्यूनीकरण गर्छौ भन्नुभयो तर सुशासन कस्तो अवस्थामा छ मैले भनिरहन पर्दैन,’ उनले भने। उनले पुस्तक ‘कात्रोमा खल्ती’को प्रसङ्ग झिक्दै हाल नेपालमा कात्रोमा खल्ती नै हुन्छ कि जस्तो गरी मानिसहरूले प्रवृत्ति देखाउन थालेको पनि बताए।
फरक प्रसङ्गमा डा।कोइरालाले केही स्थानमा राजनेता बिपी कोइरालाको सालिकमा मोसो दल्ने काम भएकोप्रति चिन्ता व्यक्त गरे। उनले भने,‘पश्चिमतिर बिपीको सालिकमा कालो मोसो दल्ने काम भएछ। त्यो राम्रो संस्कार होइन। मोसो दल्दैमा बिपी कालो हुने पनि हैन। बिपीबाट धेरै कुरा सिक्न जरुरी छ।’
कार्यक्रममा पुस्तकका लेखक सुमन कर्मचार्यले राजनीति भनेको दर्शन हो तर राजनीति दर्शन अनुसार नचलेकाले आफूले कलम चलाएको बताए। उनले राजनीतिक खराबीका विरुद्ध कलम चलाइरहने प्रतिबद्धता पनि जनाए।




















