इलाम नगरपालिका–४ जस्बिरेस्थित विश्वास सुब्बाले सञ्चालन गर्दै आएको जस्बिरे चिया कारखानामा भीषण आगलागीबाट पूर्ण रूपमा नष्ट भएको छ। 

आगलागीबाट कारखानाको सम्पूर्ण मेशिन, स्टोर रुम, तयारी चिया, कम्प्युटर, कागजपत्र र अन्य सरसामान जलेर नष्ट भएको हो।  

गएराति ९ बजे कारखानामा अचानक आगलागी भएपछि जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाको कमाण्डमा २० जना, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गण हेक्वा श्रीअन्तुबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुरेन्द्र ठाकुरको कमाण्डमा १५ जनाको प्रहरी टोली, इलाम र देउमाई नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा बिहानको राति २ बजे आगो नियन्त्रणमा लिइएको हो।

आगलागीबाट भएको क्षतिको यकिन विवरण निकाल्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी मानबहादुर राईले जानकारी दिए।

आगलागीमा परी फ्याक्ट्री सञ्चालक बिश्वास सुब्बाका भाइ इलाम– ४ जस्बिरे बस्ने वर्ष अन्दाजी ४३ का शरद सुब्बा घाइते भएका छन्। आगोको रापले अनुहार र दाहिने हातमा सामान्य जलेकोमा जिल्ला अस्पताल इलाममा उपचारपश्चात् उनी डिस्चार्ज भएको डीएसपी राईले जानकारी दिएका छन्।