मोरङको बूढीगंगामा सिटी सफारी र मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बूढीगंगा गाउँपालिका–५ हात्तीमुडास्थित भित्री सडक खण्डमा सिटी सफारी र मोटरसाइकल एकआपसमा ठोक्किएर बुधबार बिहान २ः३० बजेतिर दुर्घटना भएको हो। हात्तीमुडाबाट पोठियातिर जाँदै गरेको प्रदेश १–०२–००३ ह ५०१७ नम्बरको सफारी र विपरीत दिशाबाट आउँदै गरेको ज १२ प ६८७२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक बूढीगंगा–५ का २८ वर्षीय फिरोजकुमार सिक्दारको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको थियो।
दुर्घटनामा परेर सफारी चालक सुनसरीको दुहबी नगरपालिका–११ का ४० वर्षीय निखिल चौधरी र सफारीमा सवार रहेकी दुहबी–११ की ४० वर्षीया शिलादेवी चौधरी घाइते भएका छन्। सामान्य अवस्थाका दुवै जनाको विराट नर्सिङ होममा उपचार भइरहेको छ।
मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।