चलचित्र ‘कोशेढुंगा’को शुभ मुहूर्त गरिएको छ। हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको आज शुभ मुहूर्त गरिएको ह। 
निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा मुहूर्त गरिएको हो। च्यासलस्थित सेटमा मुहूर्त सटसँगै चलचित्रको छायाङ्कन आजैबाट सुरु भएको निर्देशक पौडेलले जानकारी दिए।
करिब एक हप्ता काठमाडौँमा छायाङ्कन गरेपछि निर्माण युनिट बाँकी सिनेमाको सुटिङका लागि स्याङ्जा जाने छ।
चलचित्रमा सुरक्षा पन्त, आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईँ, सिरु विष्ट, उद्धव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत छन्।
यो चलचित्रमा लिड रोलमा सुरक्षा पन्त रहने छिन्। महिला प्रधान चलचित्र रहेको बताइएको छ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुरागको निर्माताको रूपमा रहनेछन्। कार्यकारी निर्मातामा दिनेश खड्का रहने छन्।
बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्ने छन्। चलचित्रमा संगीत रिदम कँडेल र आशिष अविरलको रहनेछ। कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहने छन्।
‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित हुनेछ। सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ५० करोड ग्रसकलेक्सन गरेको थियो। त्यसैले उनले निर्देशन गरेको यो चलचित्र कस्तो हुनेछ भन्ने धेरैका लागि प्रतिक्षाको विषय बनेको छ।
निर्माण पक्षका अनुसार यो चलचित्र २०८२ मा रिलिज हुनेछ।