जनकपुर स्पोट्र्स क्लब र न्यू भिजन नेपालको संयुक्त आयोजनामा चौथो अन्तर स्कुल क्रिकेट प्रतियोगिता यही फागुन १७ गतेदेखि जनकपुरधामको रंगभूमि मैदान (बर बिघा) मा आयोजना हुने भएको छ।
उक्त प्रतियोगितामा कुल १६ समूहको सहभागिता रहनेछ। पहिलो र दोस्रो राउन्ड नकआउट प्रणालीमा खेलाइनेछ भने अन्तिम राउन्ड लिग आधारमा हुनेछ। प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, बलर, विकेटकिपर, फिल्डर तथा म्यान अफ द म्याच लगायत विभिन्न विधामा खेलाडीहरू पुरस्कृत गरिने आयोजक समितिका सदस्य प्रशान्त अरविन्दले जानकारी दिएका छन्।
यस प्रतियोगिताले विद्यार्थी क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
खेलको विजेता टिमलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने मुख्य आयोजक न्यू भिजन नेपालका अध्यक्ष एवम् प्रतियोगिता व्यवस्थापक अम्बु प्रसाद साहले जानकारी दिए। साथै उनले प्रतियोगिता हेर्न क्रिकेट सङ्घका पदाधिकारी पनि आउने हुनाले आगामी दिनमा राष्ट्रिय स्तरको खेलका लागि छनोट हुने खेलाडीमा प्रतियोगितामा अब्बल हुनेहरूले ग्राहिता पाउने जानकारी दिए।