मिथिला क्षेत्रको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई मध्यनजर गर्दै मिथिला बिहारी महाआरती र मिथिला माध्यमिकी परिक्रमा धुमधामसँग सुरु हुँदै छ।
यस धार्मिक महोत्सवले नेपाल र भारतका लाखौँ श्रद्धालु र साधु सन्तलाई एकजुट गर्दै एक अद्वितीय धार्मिक यात्रा प्रस्तुत गर्ने विश्वास मिथिला बिहारी महाआरती संरक्षण समितिले लिएको छ।
समितिका अनुसार,फागुन १५ गते बिहीबारदेखि मिथिला माध्यमिकी परिक्रमा विधिवत् रूपले आरम्भ हुनेछ। यस धार्मिक परिक्रमामा हजारौँ भक्तजन र साधु सन्तहरू नेपाल र भारतका पवित्र धार्मिक स्थलहरूमा यात्रा गर्दै पुण्य प्राप्ति र आत्मिक शान्ति चाहन्छन्।
मिथिलाको ऐतिहासिक परम्परा अनुसार परिक्रमा धनुषाको ठेरा कचुरी मठबाट सुरु हुनेछ। त्यसपछि विभिन्न धार्मिक स्थलहरू हुँदै भारतको कल्याणेश्वरसम्म पुग्ने समितिले जनाएको छ।
यस परिक्रमाको मुख्य उद्देश्य पाप नाश र पुण्य प्राप्ति हो। धार्मिक स्थलहरूको परिक्रमा गर्दा भक्तजनहरूले झाँकी, भजन र कीर्तन जस्ता धार्मिक क्रियाकलापहरूमा पनि भाग लिने छन्। यस अवसरमा कञ्चनवन मन्दिरमा होलीको औपचारिक सुरुवात पनि हुनेछ। कञ्चन वनमा भक्तजनहरूले एकआपसमा होली खेल्ने परम्परा रहेको छ।
यस महोत्सवको एक अन्य प्रमुख कार्यक्रम भनेको मिथिला बिहारी महाआरतीलाई लिइएको छ। महाआरती फागुन १४ गते बुधवार साँझ ७ बजे कचुरी मठमा आयोजना गरिने छ। यस भव्य आरतीमा हजारौँ श्रद्धालु र भक्तजन उपस्थित हुने अपेक्षा छ।
महाआरतीका अवसरमा समग्र मिथिला क्षेत्रभर एक विशेष धार्मिक उत्सवको माहौल हुनेछ। यस महाआरतीले न केवल श्रद्धालुहरूको आध्यात्मिक उन्नति हुनेछ, बरु यस क्षेत्रको सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने अवसर पनि प्राप्त हुने विश्वास लिइएको छ।
कलश यात्रा फागुन १४ गते बुधवार बिहान ८ बजे आरम्भ हुने भएको छ भने महाआरती सोही साँझ ७ बजेदेखि हुने मिथिला बिहारी महाआरती संरक्षण समितिले जनाएको छ। त्यस्तै, डोला प्रस्थान फागुन १५ गते बिहीबार बिहान ८ बजे मिथिला बिहारी नगरपालिका–८ कचुरी मठबाट गरिने छ।
यस धार्मिक यात्रा र महाआरतीका अवसरमा नेपाल र भारतका भक्तजनहरू एकसाथ आउँदै धार्मिक सहकार्य र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिने छन्। मिथिला बिहारी महाआरती र माध्यमिकी परिक्रमा एक ऐतिहासिक अवसरको रूपमा रहेका छन्।
समितिले सम्पूर्ण नगरवासी, विद्यार्थी, समाजसेवी, साधु सन्तलाई यस धार्मिक यात्रामा सहभागी हुन र यस महोत्सवलाई सफल बनाउन आग्रह गरेको छ।