ललितपुर महानगरपालिका डिजिटल मैत्री बन्दै गएको छ। विशेष गरी घरजग्गा, नक्सा पासमा कागजी प्रणालीबाट दिग्दार भएका महानगर बासी अनलाइन नक्सा पास हुन थालेपछि उत्साहित छन्।
बायोमेट्रिक सिस्टम एवम् डिजिटल सिक्नेचरमार्फत घरमा बसी बसी घरजग्गा पास गर्ने प्रणालीको विकास गरिएपछि महानगर बासीलाई सहज भएको छ।
दुई वर्षअघि नै यस्तो प्रणाली अभ्यासमा ल्याउने तयारी थालेको महानगरले ढिला गरी पुस पहिलो हप्ताबाट अनलाइन नक्सा पास प्रयोगमा ल्याएको हो। महानगरका सहरी विकास प्रमुख श्रीकुमार महर्जनका अनुसार उक्त प्रणालीको प्रयोग अन्तर्गत एक महिनाको ट्रायल पिरियड सकिएकाले अब नियमित काम सुरु भएको छ। 
‘एक महिना ट्रायल फेस पनि गरिसकेका छौँ। ट्रायल गर्दा सबै जनाको सकारात्मक प्रतिक्रिया पाएका थियौँ। समस्या केही छैन। कहिलेकाहीँ सफ्टवेयरका कारणले समस्या आउने गर्छ। तर अहिलेसम्म सर्भिस डेलिभर भएको छ। पुसको २ गते महानगरपालिकाको जन्म जयन्तीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विधिवत रूपमै सुरु गरिसकेका छौँ,’ उनले भने। 
यसको साथै, उनले पुस २ गतेबाट सुरु भएको काम अहिलेसम्म अस्थायी रूपमा दर्ता भएका फाइलहरू ६० देखि ७० वटा पास भइसकेको बताए। उनले अनलाइनमा डिजिटल सिग्नेचरमा खासै ठुलो विषय नभएको बताए। 
उनले नक्सा पास गर्दा इन्जिनियरको सहयोग र सुझाव आवश्यक पर्ने बताए। पहिला सिग्नेचर (हस्ताक्षर) कापीमा गर्ने गरेको तर अहिले बायोमेट्रिकमार्फत हुने र यस्तो सिग्नेचर नक्सा पासको लागि मात्र नभई अन्य काममा पनि प्रयोग हुने बताए। 
नक्सा पासको लागि डिजिटल सिग्नेचर लिनै पर्छ भनेर जनतालाई बाध्य नबनाए पनि डिजाइनरले भने बायोमेट्रिक गराएर मात्र नक्सा पेस गर्ने व्यवस्था गरिएको पनि महर्जनको भनाई छ। बायोमेट्रिकमा तीन वटा फिचरहरू थम, सिग्नेचर र फेसको व्यवस्था गरिएको उनले जानकारी दिए। 
‘डिजिटल सिग्नेचरको लागि अहिले पेन ड्राइभ सिस्टममा नै छ, यसमा आफ्नो पासवर्ड भएपछि जुन ठाउँमा बसेर पनि प्रयोग गर्न सकिन्छ। जो मान्छे विदेशमा बसेर नक्सा पास गर्न चाहन्छन् त्यस्तो मानिसको लागि पेन ड्राइभ सिस्टम एकदमै सजिलो भएको छ, उनले भने। 
महर्जनका अनुसार अनलाइनमार्फत निवेदन दिएपछि इमेलमार्फत सफ्ट टोकन भनेर उपलब्ध गराउने व्यवस्था छ तर त्यसको लागि भने एउटा पास पार्टको म्याद भएको फोटोकपी, दोस्रो भिसाको कपी र अर्को एराइबलको पेपर भएपछि नेपाल बाहिर बसेर नक्सा पास गर्न आवेदन लिन सकिन्छ। 
अनलाइनबाट नै पेमेन्ट गर्ने व्यवस्था भएपछि नेपाल बाहिर बसेर पनि नक्सा पास गर्ने काम सुरु भएको अवस्था छ। भौतिक रूपमा नगरपालिकामा नै आउनुपर्छ, भन्ने अवस्थाबाट ललितपुर महानगरपालिका बासीलाई मुक्त गराएर ठुलो उपलब्धि गराइएको महर्जनको भनाई छ। 
अनलाइन प्रणालीले नगरपालिकालाई तिनुपर्ने करहरु तिर्न पनि भौतिकरुपमा उपस्थित हुनुपर्ने सजिलो भएको छ भने नक्सा पासको पेपर मेलमा फरवार्ड९पठाउनु० गरेपछि नगरपालिका आउनुपर्ने झन्झट पनि नहुने उनको भनाइछ। नयाँ प्रविधि भएर स्वीकार गर्न गाह्रो भएपनि यसले कामहरूलाई एकदमै सहज बनाउने विश्वास पनि महानगरले लिएको छ। 
महानगरले नक्सा पास गरी भवन बनाइरहँदा पनि परिवर्तन गर्नुपर्ने कुरा र नक्सा पास नगरी घर बनाउने अवस्थाको लागि भने कार्यविधि पास गरेर प्रकाशन गरेको महानगरले जनाएको छ। यसको लागि फागुनको आठ गतेबाट विधिवत रूपमा निवेदन स्वीकार गर्ने काम पनि सुरु भएको छ। 
नक्सा पासको लागि महानगरमै आउनु नै पर्छ भन्ने जरुरी पनि छैन। यसका लागि डिभाइस पनि उपलब्ध गराइएको छ। त्यसको अलावा प्रत्येक वडामा पनि एक एक वटा डिभाइसहरु उपलब्ध गराइएको छ। वडाबाट पनि बायोमेट्रिक गरेर पठाउन मिल्छ। 
घरधनी आफैँले पनि आफ्नो काम कहाँ पुग्यो, किन रोकियो, कति दिन रोकियो, कसले रोक्यो भनेर सबै हेर्न मिल्ने व्यवस्था पनि भएको हुनाले अनियमितताको पाटो हटेर पनि उनको विश्वास छ।  
नेपाल सरकारको सर्भर प्रयोग गरिरहेको महानरले चाँडै आफ्नो अलग्गै सर्भरको डिजाइन गर्ने पनि उनले जानकारी दिए। नक्सा पास र राजश्व सङ्कलन अनलाइनबाटै हुने भएकाले सेवाग्राहीलाई सहज भएको छ।