इलाममा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बाबु–छोराको मृत्यु भएको छ।
मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–३ हाँसपोखरीमा को १ ख ६४६२ नम्बरको टिपरले प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
इलामबाट झापा आउँदै गरेको टिपरले विपरीत दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सूर्योदय नगरपालिका–६ खादी गाउँका ४० वर्षीय दीर्घ राई र पछाडि सवार उनका बुवा अन्दाजी ७० वर्षीय पवनकुमार राई मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हिजो साँझ ६ः४० बजेतिर दुर्घटना हुँदा दुवै जना गम्भीर घाइते भएका थिए। झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा बाबु–छोराको राति ८ः२५ बजेतिर मृत्यु भएको प्रहरीको जनाएको छ।
दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक इलामको माईजोगमाई गाउँपालिका–२ शान्ति चोकका अन्दाजी ३० वर्षीय खगेन्द्र थामीलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ।