बाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जातीय र सामुदायिक संस्थालाई अतिवादी चिन्तनबाट जोगाउनु पर्ने बताएका छन्। 
नेवा: देय् दबु वाग्मती प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई शुक्रवार साँझ मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले जातीय सद्भाव र सामुदायिक एकताले मात्र सही गन्तव्यमा पुगिने बताए। ‘भाषा, संस्कृति र सभ्यताको रक्षा गर्नुपर्छ, तर त्यसको नाममा अतिवादमा जानु हुँदैन, अतिले खती गर्छ’, उनले भने। 
सभ्यता र संस्कृति राज्यका सम्पत्ति भएको बताउँदै श्रेष्ठले राज्यले त्यसको संरक्षण गर्नुपर्ने बताए। नागरिक समाजले पनि प्राप्त अधिकारको उपयोग गर्दै आफ्नो भाषा, संस्कार र संस्कृति संरक्षणमा योगदान दिनु पर्ने उनको धारणा छ। 
कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले अहिले भाषा, संस्कार र संस्कृति सङ्कटमा परेका बताए। संविधान र कानुनले अधिकार दिएको भए पनि त्यसको कार्यान्वयन पक्ष कमजोर भएको उनले बताए। 
भाषा, संस्कार र संस्कृति पुराना पुस्तबाट नयाँमा सर्दै जाने भए पनि नयाँ पुस्ताले त्यसको बेवास्ता गरेको भन्दै उनले चिन्ता व्यक्त गरे। भाषा, संस्कार, संस्कृति र राष्ट्रिय विभूति माथि कुनै राजनीति गर्नु नहुने उनको धारणा छ। 
कार्यक्रममा नेवा: देय् दबुका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यले मातृभाषालाई जोगाउन धेरैले बलिदान गरेका बताए। उनले भाषा, संस्कार र संस्कृति जोगिए मात्र राष्ट्र जोगिने धारणा राखे। राज्य निर्मम हुँदा कतिपय भाषा, संस्कार र संस्कृति लोप भएको उनको भनाइ छ। 
राज्य सत्ताले विवेक नपु¥याउँदा नेवार समुदाय व्यापारबाट समेत विस्थापित भएको उनले बताए। सरकारी अधिकारीलाई किनेर नेवार समुदायको हातबाट व्यापार व्यवसाय खोस्ने काम गरिएको उनको आरोप छ।