सिरहामा दुई अलग—अलग घटनामा मारिएका रिंकु कुमारी सदा र प्रकृति लम्सालको न्याय माग गर्दै विद्यार्थीहरू सडकमा उत्रिएका छन्। नेपाल विद्यार्थी सङ्घ सिरहाका युवाहरूले शुक्रवार बिहान गोलबजारमा प्रदर्शन गरेका हुन्।
विद्यार्थीहरूले जनता बहुमुखी क्याम्पसबाट र्याली निकालेर गोलबजार परिक्रमा गरेपछि गोलपार्क नजिक कोणसभा गरेका थिए। उनीहरूले घटनामा संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दै ‘बलात्कार पीडितलाई न्याय दे, अपराधीलाई कारबाही गर, बलात्कारको मूल्य तोक्ने पञ्चहरूमाथि कारबाही गर, जस्टिस फर रिंकु सदा र प्रकृति लम्साल’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
गत माघ ३० गते सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर टोलकी १७ वर्षीया रिंकु कुमारी सदा आफ्नै घरको छानोमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानका क्रममा स्थानीय रूपेश मण्डल, चन्दन साह, र रामविनय मण्डलले सामूहिक बलात्कार गरेको खुलेको छ। घटनापछि स्थानीय स्तरमा पञ्चायत राखी मिलाउने प्रयास भएको थियो, जसका कारण पीडित मानसिक तनावमा परेकी थिइन्।
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल होस्टलको कोठामा मृत फेला परेकी थिइन्। सुसाइड नोटमा उनले ब्रेकअपपछि पूर्व प्रेमीले मानसिक तनाव दिएको र ब्ल्याक मेल गर्ने प्रयास गरेको उल्लेख छ। लम्सालको मृत्यु आत्महत्या वा अन्य कारणले भएको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।
दर्शनकारीहरूले दुवै घटनामा निष्पक्ष छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्न माग गरेका छन्।