काठमाडौँ महानगरपालिकाको सार्वजनिक निर्माण विभागले चालु आर्थिक वर्षभित्र ३२ हजार ८५१ वर्ग मिटर क्षेत्रफलमा ढुङ्गा बिछ्याउने लक्ष्य पूरा गर्न काम गरिरहेको छ। 
सार्वजनिक खरिद प्रक्रियाबाट ७ वटा प्याकेजमा ८ वटा योजना कार्यान्वयन ल्याइएकोमा ५ वटा योजना सम्पन्न भएका छन्। 
सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, सहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदल यात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदल मार्ग, भित्री सडक तथा गल्लीमा ढुङ्गा बिछ्याउने काम भइरहेको हो। 
योजनाहरू वडा नं. ६, ८, १२, २१, २६ र २७ गरी ६ वटा वडा र हनुमान ढोका दरबार संरक्षण क्षेत्रमा सञ्चालन भएका हुन्। यसका लागि २९ करोड ४७ लाख ८८ हजार ८५९ रुपैयाँ लागत अनुमान गरिएको थियो। यसलाई सार्वजनिक खरिद प्रक्रियाबाट २८ करोड १४ लाख ९२ हजार ४२७ रुपैयाँमा काम सक्ने गरी निर्माण पक्षसँग सम्झौता गरिएको छ। 
सम्पन्न ५ वटा योजनाबाट १० हजार ७२९ वर्ग मिटर क्षेत्रमा ढुङ्गा बिछ्याइसकिएको छ। यसअन्तर्गत वडा नम्बर ८ को जयवागेश्वरी मार्ग सिफल सेतो ढोकादेखि जय बागेश्वरी चोकसम्मको १ हजार ४८५ वर्ग मिटर मार्गको काम सकिएको छ। 
यसको लागत १ करोड २६ लाख ६० हजार रुपैयाँ हो। वडा नम्बर १२ को ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्मको १ हजार ८२५ वर्ग मिटर मार्गमा ढुङ्गा बिछ्याइसकिएको छ। यसको लागत १ करोड ५४ लाख ६८ हजार ८ सय रुपैयाँ हो। 
वडा नं। २१ को लगन चोकमा २ हजार ९२ वर्ग मिटर क्षेत्रको काम सकिएको छ। यसको लागत १ करोड ३६ लाख २९ हजार ७२७ रुपैयाँ हो। वडा नम्बर २६ को कुमारी कृपा मार्गको १ हजार १७ वर्ग मिटर क्षेत्र र वडा नम्बर ६ को राम हिटी मार्गमा ५२० वर्ग मिटर क्षेत्रको काम सम्पन्न भएको छ । यी दुई वटा सडकलाई एउटै प्याकेजमा काम गरिएको हो। यसको लागत ४४ लाख ८७ हजार ६ सय रुपैयाँ हो। 
सम्पन्न योजनाका लागि महानगरपालिकाले अहिलेसम्ममा ४ करोड ६२ लाख ४६ हजार ६८७ रुपैयाँ भुक्तानी गरिसकेको छ। 
जमलदेखि असन हुँदै इन्द्रचोकसम्मको ढुङ्गा छाप्ने काममा कमलाछी क्षेत्रमा काम सम्पन्न भएको छ। भोटाहिटी असन हुँदै इन्द्रचोकसम्मको निर्माण कार्य भइरहेको छ। 
असनदेखि वीर अस्पताल, महाबौद्ध हुँदै चित्तधर मार्ग र हनुमान ढोका दरबार क्षेत्रमा विद्युत् भूमिगत गर्ने कार्यसँग समन्वय भइरहेको छ। बिजुलीको तार भूमिगत गरेपछि ढुङ्गा बिछ्याउने काम सञ्चालन गरिनेछ।