पाँच महिना अघि इलाका प्रहरी कार्यालय गोल बजारले स्थानीय मनोज होटलमा छापा मार्यो। केही यौनकर्मीहरूसहित होटल सञ्चालक पक्राउ परे। होटल सञ्चालकले तत्कालै ‘बिचौलिया’भनिएका राकेश साहलाई फोन गर्न भ्याए। त्यति बेला ‘बिचौलिया’ साह जिल्ला प्रहरी कार्यालय सिरहाको प्राङ्गणमा उभिएका थिए। उनले तत्कालै गोल बजार प्रहरीलाई फोन लगाए–‘होटल मालिक मनोजलाई पक्राउ नगर्नु डिल भइसक्यो, उसलाई त्यही छाडिदिनु’ भनेपछि प्रहरीले होटल मालिकलाई छाडेर यौनकर्मीहरूलाई मात्र प्रहरी चौकीमा ल्यायो। (भिडियो सुरक्षित छ)
पाँच महिना पहिले पत्रकार महासङ्घ सिरहाका निवर्तमान उपाध्यक्ष गणेश साहका भाञ्जाले चलाएको स्कुटी दुर्घटनामा पर्यो। एक बटुवा घाइते भए। स्कूटी प्रहरीले नियन्त्रणमा लियो तर चालक भागे। घाइतेको उपचार गराएर त्यसको सम्पूर्ण खर्च बेहोरेपछि प्रहरीकै रोहवरमा मिलापत्र भयो। तर प्रहरीले स्कूटी छोड्न मानेन्।
पत्रकार साहले प्रहरी उपरीक्षक रमेश पण्डितलाई भेटेर स्कूटी छोड्न आग्रह गरे तर छुटाउन सकेनन्। त्यसपछि पत्रकार साहले बिचौलिया राकेश साहलाई भेटेर अनुरोध गरे। भोलिपल्ट बिचौलिया साहले पत्रकार साहलाई भने स्कूटीका चालकहरू ब्राउन सुगर लिएर आएको र दुर्घटना गरेर फरार भएको पण्डितको भनाइ छ।
मुद्दा सरकारी वकिल समक्ष पुगिसकेको छ। ‘डेढ लाख रुपैयाँ दिने भए मात्र स्कूटी छुट्छ, एसपी साहबको भनाइ छ। एक लाख जम्मा गर्नुस् अनि मात्र स्कूटी छुट्छ। म मेरो आफन्त हो भनेर एक लाखमा मिलाउँछु,’ पत्रकार साहले बिचौलिया साहसँगको संवादलाई भिडियो रेकर्ड गर्न भ्याए।
त्यही रेकर्डिङ्ग बोकेर अर्का पत्रकार सबिन यादव एसपी पण्डित समक्ष पुगे। पहिले उनले स्कूटी छाड्न आग्रह गरे तर एसपी पण्डितले इन्कार गरे। त्यसपछि पत्रकार यादवले उक्त भिडियो एसपीलाई देखाएर भने,‘यो बिचौलियालाई रकम उठाउन तपाईँले खटाएको होइन भने पक्राउ गरेर कारबाही गर्नुस्, होइन भने तपाईँको पर्दाफास गर्न यो भिडियो काफी छ।’ भिडियो हेरेर निःशब्द भएका एसपी पण्डितले तत्कालै वाकीटकीमा आदेश दिए–‘स्कूटी छाडिदिनु।’(भिडियो सुरक्षित छ)
गोल बजारकै प्रवीण साहले बिचौलिया साहको चेक बाउन्स गराएर मुद्दा दर्ता गर्न जाँदा जिल्ला प्रहरी कार्यालय सिरहाले मुद्दा दर्ता गरेन। बिचौलिया साह सिरहामा शक्तिशाली छन्।
प्रहरी चौकीदेखि सबै सुरक्षा निकाय प्रमुख, अदालत, सरकारी वकिल र जिल्ला प्रशासन उनको मुट्ठीमा रहेको उनीबाट पीडितहरूको गुनासो छ। को थुनिने, को छुट्ने, कसले जित्ने र कसले हार्ने बिचौलिया साहसँगको लेनदेन र बोलकबोलमा भरपर्छ। भन्सार चोरी पैठारीको लाइन मिलाउने मुख्य एजेण्ट पनि साह नै रहेको स्थानीयहरूको भनाइ छ।
प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रदेश प्रमुख, उच्च अदालत र सर्वोच्च अदालतसम्म न्यायाधीशहरूसँग बिचौलिया साहले निकटता बढाएका छन्। सिरहाबाट सरुवा भएर अन्यत्र गएका सरकारी अधिकारीहरुसँग पनि उनको सम्बन्ध कायम रहने गरेको र त्यहाँको मुद्दा जिताउने कामको पनि ठेक्कामा लिने गरेको जानकारहरू बताउने गर्छन्।
बिचौलिया साहको प्रहरी निरीक्षकदेखि माथि नायव प्रहरी महानिरीक्षक र सो भन्दा माथिल्ला दर्जाका करिब चार सय जना अधिकारीहरुसँग सामीप्यता रहेको अनुमान गरिन्छ। उनीहरू सबैको मोबाइल नम्बर साहको मोबाइलमा सञ्चित छ। प्रहरी मात्र होइन दर्जनौँ प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला, उच्च र सर्वोच्च अदालतका दर्जनौँ न्यायाधीशहरू र सरकारी वकिलहरूसँग उनको निकट घनिष्टता रहने गरेको उनी निकटका व्यक्तिहरू बताउने गर्छन्।
‘नम्बर मात्र सञ्चित छैन उनी बेला मौकामा सबैलाई फोन गरिरहने, कुनै सरकारको जाँच एजेन्सीले उनको मोबाइलको कल डिटेल झिकेर हेर्ने हो भने साँठगाँठको जालो छरपस्ट हुन्छ। कार्यालयहरूका सीसी टिभी फुटेज हेर्दा उनको गाडी आउजाउ गरेको प्रष्ट देखिन्छ,’ उनी निकट एक व्यक्तिले नाम नखुलाउने सर्तमा भने।
सिरहा जिल्लाभर मात्र उनको चर्चा रहेको तर अहिले उनको चर्चा मधेस प्रदेशभर नै फैलिएको छ। नेपालको कुनै अदालतमा मुद्दा छ भने साहलाई भेट्नुपर्ने उनले ठेक्कामा मुद्दामा सहजीकरण गर्ने गरेको भुक्तभोगीहरू बताउँछन्। ‘पहिले दर रेटको कुरा हुन्छ। त्यसपछि रकम जम्मा गराइन्छ। जितको ग्यारेण्टी हुन्छ,’ बिचौलिया साह स्वयं भन्छन् ,‘मान्छे गलत सम्पर्कमा पुगेर फस्छन्। पैसा पनि खर्च हुन्छ काम पनि हुँदैन,’ उदाहरण दिँदै बिचौलिया साह भन्छन्,‘गोल बजारका जाकिर मियाँको १५ लाख खाइदियो अर्को एक बिचौलियाले तर काम भएन। मलाई दिएको भए म १० लाखमा ग्यारेन्टीका साथ गरिदिन्थे। म सस्तोमा ग्यारेन्टीका साथ काम गर्छु। म कसैलाई भन्न जाँदिन तर म समक्ष आउने काम गरिदिन्छु। यसमा मेरो के गल्ती छ ? म त जनताको सेवा नै गरिरहेको छु।’
जब आँप पाक्ने मौसम आउँछ बिचौलिया साहले कमसेकम एक कार्टुन आँप सबै सरकारी अधिकारीहरूलाई सम्झेर पठाउँछन्। काठमाडौँ जाँदा चिनजानका सरकारी अधिकारीहरूका लागि सोनपापडी मिठाई, विकानेरी भुजिया, पापडको प्याकेट र बासमती चामल हाते कोसेली लिएर जाने गरेका छन्।
कुनै सरकारी अधिकारीलाई चार पाङ्ग्रे गाडी चाहियो भने कालो सिसा जडित कार सेवाका लागि उपलब्ध गराउने, बिदा मनाउन इच्छुक सरकारी अधिकारीहरूका लागि मनोरम पर्यटकीय स्थलमा लैजाने राम्रो भोजन, महँगा रक्सी खुवाउने व्यवस्था मिलाउने गरेका छन्।
प्रधानमन्त्री र राष्ट्रपतिका लागि मात्र उपलब्ध सुविधा उपभोग गर्ने, कालो सिसा जडित कार प्रयोग गर्ने, कुनै पनि सरकारी अधिकारीको निवाससम्म बिना रोकटोक आफ्नो गाडी प्रवेश गराउनेलगायतका सेवाहरू उनले उपयोग गरिरहेका छन्।
उनको गाडी भारतीय बजारमा पनि निर्वाद रूपमा गुडिरहेको पाइन्छ। ‘सीमा वारपार बहुमूल्य सामान ल्याउन र लैजान, भन्सारमा चोरी पैठारीको लाइन मिलाउन र तस्करहरूबाट महिनावारी उठाएर बुझाउने उनी सक्रिय छन्। तर प्रेस पास परिचय पत्र बोकेका पत्रकारहरूको मोटरसाइकललाई उनको गाडी निर्वाद प्रवेश गरेको स्थानमा प्रवेश पाउँदैन,’ स्थानीय एक सञ्चारकर्मीले भने।
नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्छन्,‘सिरहामा न्यायिक अराजकताको स्थिति छ। बिना बिचौलिया प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा गरिब, दलित, महिला र कमजोर वर्गको सुनुवाइ हुनै छाड्यो। समाजमा मत्स्य न्याय व्याप्त भयो। बलियाले निर्धालाई क्वाप्पै निलेका छन्। अहिले सिरहामा जङ्गल राज छ।’
नेकपा माओवादीका नेता तथा संविधान सभा सदस्य जगतप्रसाद यादव भन्छन्,‘बिचौलियाको काम ठुला नेताहरूले पनि गरिरहेका छन्। मुद्दा फैसलाको पूर्व सन्ध्यामा न्यायाधीशलाई पूर्वकानून मन्त्रीहरू र अन्य नेताहरूको फोन जान्छ। ८० प्रतिशत मुद्दामा नेता तथा बिचौलियाले चलखेल गर्छन् र सोही अनुसार जितहार हुन्छ। यो ज्यादै डरलाग्दो अवस्था छ।’
पक्राउ परेकालाई छुटाउने, भन्सार चोरी पैठारी गराउने, लागु औषधका मुद्दा हलुका गराउने वा अदालतमा मुद्दा जिताउने र प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दाको छिनोफानोमा जिताउने भूमिकाका लागि आम मानिसहरू साहलाई सम्झिन्छन्।