अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन ह्वाइट हाउसले गरेको विभिन्न निर्णयविरुद्ध आन्दोलन सुरु भएको छ।
विशेष गरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का कर्मचारीहरूले ट्रम्प प्रशासनको विरोध गरेका हुन्। आन्दोलनकारीले सङ्घीय कानुन र अमेरिकी संविधानको उल्लङ्घन भएको आरोप लगाएका छन्।
अनलाइनमार्फत करिब ५० राज्यमा एकसाथ विरोध प्रदर्शन गरिएको हो। प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा गरिएको निर्णय फिर्ता गर्न माग गरेका छन्।
प्रदर्शनकारीले टेस्लाका सीईओ एलोन मस्कको प्रभाव र सक्रियताप्रति पनि चिन्ता व्यक्त गरेका छन्। उनीहरूले मस्कको नियुक्ति गैरकानुनी भएको पनि बताएका छन्। मस्कले यूएसएआईडी बन्द गर्नुपर्ने सुझाव दिएका थिए।
ट्रम्पले यूएसएआईडीको सहायता तीन महिनाका लागि रोक्दै समीक्षा र पुनरावलोकन गर्ने आदेश गरेपछि विश्वभरका कर्मचारीहरूलाई फिर्ता गर्न निर्देशन समेत दिइसकेको छ।
यूएसएआईडी सन् १९६१ मा राष्ट्रपति जोन एफ.केनेडीको प्रशासनमा स्थापित भएको थियो। यसले गरिबी निवारण, रोगहरूको उपचार, अनिकाल र प्राकृतिक प्रकोपहरूको प्रतिक्रिया दिन विश्वभर वार्षिकरुपमा अर्बौँ डलर वितरण गदै आएको छ।
यूएसएआईडीका हजारौँ कर्मचारीलाई शुक्रवार मध्य रातिदेखि छुट्टीमा राखिनेबारे सूचना जारी भइसकेको छ।