प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरू सरकार ढलाउनमा लागेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपक्षी दलहरू सरकार ढल्यो ढल्यो भन्दै गीत गाइरहेको बताएका हुन्।
उनले भने, ‘विपक्षमा रहिरहेका साथीहरू एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ। सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघ मसान्त, माघे सङ्क्रान्ति आदी इत्यादि। एउटा गीत बजारमा आएको छ–‘ढलेँ ढलेँ’भन्ने अलि प्रचारमा छ। प्रायः आम रूपमा राजनीतिक नेताहरूले गाएको सुन्छु–ढल्यो ढल्यो ढल्यो..। आज ढल्यो, भरे ढल्यो, बिहान ढल्यो। राती ढल्यो, ढल्यो, ढल्यो ......। यो गीत पार्टी उत्सवमा सुहाउँला राजनीतिमा त्यति सुहाउँदैन।’
साथै उनले ८४ सम्म यो सरकार टसमस नगर्ने बताए। उनले दिनरात सरकार ढले भनेर गीत गाउनुको सट्टा कति कामहरू राम्रा भएका छन् त्यसको मूल्याङ्कन गर्नुपर्ने बताए।