बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहिद दिवस २०८१ को अवसरमा सहिदहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रदेश प्रमुख देवकोटाले बुधवार सहिद दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सहिदहरूको योगदानलाई उच्च सम्मान सहित श्रद्धाञ्जली व्यक्त गरेका हुन्।  
इतिहासका विभिन्न कालखण्डमा देशको निम्ति आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात सहिदहरूप्रति उनले श्रद्धाञ्जली अर्पण गरेका हुन्। 
सहिदहरूको बलिदानको मर्मलाई बुझी समृद्ध नेपालको साझा सपना साकार पार्न जिम्मेवारी पूर्वक  आफ्ना कर्तव्य पालन गर्नमा सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन्। 
विज्ञप्तिमा भनिएको छ, ‘वर्षौँ पहिले कसैले रोपेको बिरुवाले आज छहारी र शीतलता प्रदान गरेजस्तै देशको निम्ति जीवन उत्सर्ग गर्ने राष्ट्र प्रेमी मानवको बलिदानको परिणामले आज हामी सम्पूर्ण नेपाली स्वाधीन, स्वतन्त्र र स्वाभिमानी भएर अग्रगामी मार्गमा छौँ’ सन्देशमा भनिएको छ, ‘सहिदहरूको त्याग, साहस र बलिदानको गौरवपूर्ण गाथाले देशलाई माया गर्न र आफ्नो कर्तव्यमा निष्ठापूर्वक लागिरहन हामीलाई हौसला मिल्ने कुरामा म विश्वस्त छु।’
आजको यो महत्त्वपूर्ण दिनमा सम्पूर्ण राजनैतिक दल र आम नागरिक गम्भीर भई आत्म समीक्षा गरेर देशको हितलाई सर्वोपरी राखी अघि बढेमा मात्र सहिदप्रति वास्तविक सम्मान हुनेछ विज्ञप्तिमा भनिएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यो उत्कृष्ट व्यवस्था तिनै महामानवका बलिदानको उपज भएको उल्लेख गरेका छन्।