सोनाम ल्होसारको अवसर पारेर गायक विजय लामाको राजधानी काठमाडौँमा भव्य साङ्गीतिक प्रस्तुति हुने भएको छ।
२८ सय ६१ औँ सोनाम ल्होसारको अवसरमा माघ १७ गतेका दिन टुँडिखेलमा गायक लामाले आफ्नो ब्यान्डसहित एकल साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।
विजय लामा एण्ड द ब्यान्डको प्रस्तुति रहने कार्यक्रममा गायक लामाले आफ्ना चर्चित गीतहरू ‘नखानु पानी तोङबाको, उँभो उँभो लेकमा म जाँदा, रोसी खोला पारी मेरो मामा, माया है बस्ला रसैले लगायतका एक दर्जन बढी गीतहरू गाउने छन्।
ल्होसार मूल समारोह समितिको आयोजनामा हुन लागेको साङ्गीतिक कार्यक्रमको व्यवस्थापक नमस्ते साउण्ड रहेको छ। यसैबिच टुँडिखेलको कार्यक्रम सकिए लगत्तै भोलिपल्ट नै गायक लामा साङ्गीतिक प्रस्तुतिका लागि दुबई उड्नेछन्।
उनले फेब्रअरी १ तारिखका दिन दुबईको क्लब याक एण्ड यती एभरेष्ट बर दुबईमा एकल साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ। जसको आयोजक दुबई नेपाली रक्स रहेको गायक लामाले जानकारी दिए।
लामाले दुबईमा पनि आफ्ना दर्जन बढी गीतहरू गाउनेछन्। पछिल्ला दिनमा सामाजिक काममा पनि व्यस्त गायक लामाले देशभरका गरिब दुःखी र बाबु आमा नभएका असहायहरूका लागि पनि काम गरिरहेका छन्।