प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले माघ महिनामा बस्ने बैठकको क्यालेण्डर तय गरेको छ।
मङ्गलवार सभामुख देवराज घिमिरेले राखेको बैठकमा सोमबार पेस भएका कार्यसूची केही हेरफेर भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।
उनले भने, ‘कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रस्तावित मिति हेरफेर भएका छन्। कार्यसूची त त्यही नै हुन्छन्। १८ गते बैठक प्रारम्भ हुन्छ, अध्यादेश त्यसै दिन प्रस्तुत हुन्छ। हिजो हामीले २२, २३ संसद् चलाउने भनेका थियौँ तर आज मिति हेरफेर भएर बैठक २४, २५ बस्ने निर्णय गरिएको छ। २४ गते अध्यादेश संसदमा पेस हुनेछ। निर्णयार्थ पनि २४ गते नै ल्याउँछौ। त्यसको केही हप्तामै प्रतिस्थापन विधेयक सरकारको तर्फबाट पेस हुनेछ। यसरी हामीले कार्यसूचि निर्धारण गरेका छौँ।’
साथै उनले संसद् र समितिको प्रभावकारिता बढाउनको लागि सत्तापक्ष र प्रतिपक्ष दुवै जिम्मेवार हुने बताए। उनले संसदमा कोरम पुर्याउने कुरामा सत्तापक्ष सचेत रहेको समेत बताए।