ताप्लेजुङको पाथीभरा क्षेत्रमा ‘नो केवलकार’ भन्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच भएको झडपका क्रममा घाइते भएका तीनजनाको अवस्था गम्भीर बनेको छ। प्रदर्शनको क्रममा चार जना घाइते भएका थिए। एक जना प्रहरी पनि घाइते भएको जनाइएको छ।

प्रहरीले झडपका क्रममा गोली चलाएको पाइएको छ। गोली लागेका तीनजनाको अवस्था गम्भीर रहेको हो। केवलकार निर्माणाधीन क्षेत्रमा ‘नो केवलकार’ भन्दै आजदेखि संघर्षका कार्यक्रम जारी राख्ने तयारी स्थानीयले गरेका थिए। तर स्थानीय प्रशासनले शनिबारदेखि नै सशस्त्र र नेपाल प्रहरी  खटाएको थियो।

त्यसपछि त्यहाँ झडपको अवस्था आएको थियो। प्रहरीका अनुसार झडपमा यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई गोली लागेको थियो। उनीहरुको अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगर ल्याइएको छ।

प्रहरीतर्फ पनि १२ बढी घाइते भएका छन्। प्रहरीका अनुसार स्थानीयले ढुंगा र गुलेली हानेपछि गोली चलाउनुपरेको थियो। काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो। प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो। प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।         

सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो। हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केवलकार निर्माण योजना अघि बढाएको हो। गत मङ्गलबारदेखि जमिन सम्याउने काम सुरु भएको हो। अहिले अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ।