बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकन गर्नेहरूको उपस्थिति बढ्दै गएको छ। देशभित्र र बाहिर उत्पादित वस्तुहरूको खरिद र अवलोकनका लागि जानेहरूको भीड बढेको हो। महोत्सव स्थलमा ग्राहकको उपस्थिति बाक्एिसँगै व्यवसायीहरू उत्साहित देखिएका छन्। किचन सामग्री र स्वरोजगार मूलक उद्यमका उत्पादनमा ग्राहकको विशेष चासो देखिएको छ। शनिवार बिदाको सदुपयोग गर्दै बालबालिका समेतको उपस्थितिमा ग्राहकहरू महोत्सव स्थल पुगेको देखिन्थे।
मेलामा रौनक थप्न पोखराका नन्दनी साह चटपट र भेलपुरी लिएर बिर्तामोड आएका छन्। यस अघि उनले धरान एक्सोमा पनि चटपट र भेलपुरीको स्वाद चखाएका थिए। धनकुटा हिलेबाट ल्याइएको घरेलु ठेकी र तोङ्वा सहितका घरायसी प्रयोजनका सामग्री बिर्तामोड महोत्सवको आकर्षण बनेको छ। मौसममा आएको सुधारसँगै ग्राहकको उपस्थिति बाक्लिएपछि महोत्सवमा खरिद बिक्री बढेर गएको व्यवसायी थीरमाया राउतले बताइन्। महोत्सव स्थलको किड्स जोनमा पनि बालबालिकाहरू खेल सामग्री प्रयोग गर्दै रमाई रहेका देखिन्छन्।
3 4महोत्सवलाई थप आकर्षण दिन यस पटक मुख्य प्रवेशद्वार विशेष प्रकारले डिजाइन गरिएको छ। मुख्य मञ्च अगाडि झापाकै प्रसिद्ध तीर्थस्थल अर्जुनधारा जलेश्वर धामको चित्र झल्कने मन्दिरको आकृति राखिएको छ। सेल्फी लिने र टिकटक बनाउने केन्द्रका रूपमा ती डिजाइनले साथ दिएको छन्।
माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर विभिन्न जातिका सांस्कृतिक प्रस्तुतिहरू नियमित रहेका छन्। 
प्रत्येक साँझ प्रसिद्ध कलाकारहरूले बेजोड साङ्गीतिक प्रस्तुति राखिरहेको बिर्तामोड उद्योग वाणिज्य सङ्घले जनाएको छ। साँझ सङ्गीतमा रमाउनेको पनि उल्लेख्य उपस्थिति रहँदै आएको छ।