सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा स्मृति सभा सम्पन्न भएको छ। सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानमा स्मृति सभा गरिएको हो।
आइतबार सभा गरिएको स्थानभन्दा करिब पाँच मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो। सडक विस्तारका क्रममा शालिक भत्काउनुपर्ने भएपछि सालिकलाई साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो।
यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो। यस स्थानलाई सुधार गर्दै महानगरले २०७६ सालमा पूर्णकदको सालिकसहित पूर्वाधार विकास गरेको छ। यही स्थानमा स्मृति सभा गरिएको हो।
सहिदको सालिकमा पुष्प गुच्छा अर्पण गर्दै काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोलले, जनमानसमा सहिदको योगदान पु¥याउन काम गरिएको बताइन्। माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेल्नु भएको भूमिका र सामाजिक रुपान्तरणमा पु¥याउनु भएको योगदानको चर्चा गर्दै डंगोलले भनिन् ‘माथेमामा राजनीतिक चेतना थियो। उहाँ शारीरिक सुगठन (व्यायाम) का प्रवर्धक हुनुहुन्थ्यो। राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुश शासनविरुद्ध सङ्घर्ष गर्ने उहाँको आँट युवाहरूले सिक्नुपर्ने पाठ हो। स्मरण गर्नुपर्ने इतिहास हो। शासकसँगको सम्बन्धका कारण व्यक्तिगत रूपमा उहाँलाई सुख सुविधा सबै प्राप्त हुन सक्थ्यो। त्यो सुख सयल त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार हुनुभयो। उहाँको बलिदानीका कारण आज हामी मनमा लागेका कुरा यहाँ उभिएर बोलिरहेका छौँ।’
सभामा वडा नं. ७ का अध्यक्ष विमल होडाले, असल शासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदहरुको सपना पूरा हुने बताए। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा भने, ‘विद्यालय स्तरमा सहिदका आदर्श बुझाउन सके नेपालमा मानव अधिकार र नागरिक स्वतन्त्रता कसरी प्राप्त भयो, जान्न पाउँथे। यसले नागरिकहरूमा अहिले देखिएको नकारात्मक दृष्टिकोण कम गराउन मद्दत हुने थियो।’
माथेमालाई झुन्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो।
माथेमा काजी परिवारका थिए। उनलाई नपुग्दो केही थिएन। उनी दरवारभित्रैको पहुँचवाला थिए। उनले आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र समृद्धिलाई महत्त्व दिए। शारीरिक सुगठन प्रतियोगितामा बंगाल च्याम्पियन हुनु भएका माथेमा राज त्रिभुवनका व्यायाम शिक्षक थिए। राजासँगको यो सम्बन्धका कारण वि.सं.१९९४ मा उहाँले राजालाई समेत प्रजा परिषद्को सदस्य बनाएका थिए।
वि.सं.१९९३ जेठ २० गते माथेमाकी फुपूको घर जोर गणेश ओम बहाल टोलमा धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य, रामहरि शर्मा, दशरथ चन्द, र जीवराज शर्माले प्रजातन्त्र प्राप्तिको संयुक्त प्रतिबद्धताका साथ प्रजा परिषद गठन गरेका थिए।
वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौँको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर उनलाई प्राण दण्ड दिइएको थियो। उनी बलियो भएकोले झुन्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो। तीन पटकसम्म प्रयास गरेपछि मात्र उनलाई सहादत प्राप्त भएको थियो। त्यस बेला उनी ३१ वर्षको मात्र थिए।
वि.सं. १९६६ साल आश्विन ९ गते काठमाडौँको ओम बहाल, नवहिलमा जन्मिएका माथेमालाई तत्कालीन शासकहरूको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कार्तिक २ गते पक्राउ गरिएको थियो।
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले वि.सं.१९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यान दण्ड दिने निर्णय गरेका थिए। निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यान दण्ड दिइएको थियो।
माथेमाकी बहिनी मेनका देवीको विवाह शुक्रराज शास्त्रीसँग भएको थियो। प्रजा परिषद्का गतिविधि सञ्चालन गर्ने क्रममा शास्त्रीसँग माथेमाको भेट भएको थियो। धर्मभक्तले प्रतिबन्धित समयमा राणाहरूको स्वीकृति नलिई घरको छिँडीमा विद्यालय खोलेका थिए। फुपूको घरमा युवाहरूलाई व्यायाम सिकाउने ठाउँ बनाएका थिए।
‘यो तुच्छ नश्वर शरीरको आहुति मातृभूमिको बलिदेवीमा चढाउन पाएकोमा मेरो जन्म सार्थक भएको ठान्छु। प्राण दण्ड पाउनु अहोभाग्य’ माथेमाले भनेका थिए। त्यस्तै, उनले भनेका थिए–‘देश र जनताको भलाईको निमित्त आफ्नो ज्यान अर्पण गर्दैछु। प्रजातन्त्र ल्याउने कार्यको निम्ति तपाईँहरू सदैव कटिबद्ध हुनुहुनेछ।’