नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागकी प्रमुख उर्मिला थपलियाले मुलुकका उद्यमी एवम् व्यवसायीहरूको समस्याको सम्बोधन कांग्रेसले मात्र गर्न सक्ने बताएकी छिन्।
उनले देशभरका उद्यमी, व्यवसायी एवम् नव उद्यमीहरूका समग्र समस्याहरूको सम्बोधन गर्न कांग्रेसले विशेष अभियान सुरु गर्ने पनि बताइन्।
उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्टअप र एसएम्इ सम्मेलनको आयोजना गर्नुको उद्देश्य पनि उद्यमीहरूका समस्याहरू र सम्भावनाहरू एउटै मन्चमा खोजेर समाधानको बाटोमा लैजानु पनि रहेको उनले बताइन्।
‘खास गरी नव उद्योगीहरूका समस्याहरूलाई कांग्रेसले समाधान गर्छ भन्ने सन्देश हामीले दिनुपर्नेछ। धेरै युवाहरू पलायन भए भनेर भाषण मात्र गर्ने हाम्रो परिपाटी छ। तर हामी स्वदेशमै अवसर सिर्जना गर्न पनि सक्षम छौँ भन्ने सन्देश पनि दिन चाहन्छौँ। युवा पलायनबारे भाषण गरेर समाधान हुन सकेन। नेपालमै युवाहरू बसुन् , रोजगारी पाएर काम गरुन् भन्ने वातावरण बनाउन सम्मेलन आयोजना गरिएको हो,’ उनले भनिन्।
उनले साना तथा मझौला व्यवसायीहरूका थुप्रै समस्याहरू रहेकाले त्यसको सम्बोधन गर्न पनि कांग्रेसले सक्छ भन्ने सन्देश दिनुपर्ने आवश्यकता रहेको औँल्याइन्। ‘व्यवसायीहरू असफल भयौँ भनिरहनुभएको छ। काम गर्दागर्दै असफल भएर विदेशतिर पलायन भएँ भनिरहनुभएको छ। तर त्यसको समाधान गर्न सकिन्छ भनेर एउटै मन्चमा आवाजहरू सङ्कलन गरेर एक्सनमा काम गर्न चाहेका छौँ,’ उनले भनिन्।
काम गर्ने सिलसिलामा साना तथा मझौला व्यवसायीहरूको स–साना धेरै समस्याहरू रहेकाले त्यसको सम्बोधन गर्न कांग्रेसले पहल गर्ने पनि उनले विश्वास दिलाइन्। ‘जति साना तथा मझौला व्यवसायहरू दर्ता भए त्यसमध्ये ३० प्रतिशत व्यवसायहरू मात्र सफल भएका छन् भन्ने छ। व्यवसायहरू दर्ता गर्ने प्रणालीमा समस्या व्यहोरिरहनुपरेको छ। करमा समस्या छ। यस्ता धेरै समस्याहरू नेताहरूले बुझ्नुपर्छ। नेताले नबुझे समस्याको समाधान हुँदैन। नीति निर्माण गर्ने सम्बन्धित निकायहरूसँग पनि अन्तरक्रिया गर्नुपर्छ भनेर सम्मेलनको आयोजना गर्न तत्पर भएका हौँ,’ थपलियाले सुनाइन्।
यसैगरी उनले नव उद्योगीहरूलाई प्रोत्साहन स्वरूप कांग्रेसले त्यसलाई सहयोग पनि गर्ने र छलफलको माध्यमबाट ल्याएर समग्र समस्याहरू सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइन्। समस्याहरू जरोसम्मै पहिलाएर समाधानको बाटो खोज्ने उनले बताइन्।
उनले उत्पादित भएको वस्तुहरू सहि ठाउँमा प्रयोग गर्न आवश्यक रहेको बताइन्। उनले कृषकहरूका धेरै समास्याहरु रहेको बताउँदै, कृषकहरूको समस्याको समाधान गर्ने पार्टी नै कांग्रेस भएको दाबी गरिन्। उनले कृषक र उद्यमीहरूको समस्या समाधान गर्ने थलो भनेको काङ्ग्रेस हो भन्ने कुरा स्थापित गर्नुपर्ने भन्दै त्यसको सुरुवात गर्ने बताइन्।
उनले उद्यमीहरूको लागि नेपालमा दर्ता र करको साथै बजार व्यवस्थापनको पनि ठुलो चुनौती रहेको उल्लेख गरेकी छन्।
उनले भनिन्, ‘पहिलो कुरा दर्ता प्रक्रियामा एकदमै समस्या छ। वडा, पालिका, प्रदेश सबैतिर जानुपर्ने झन्झटिलो प्रक्रिया छ। यस्तै करमा पनि समस्या छ। उत्पादनको बजार व्यवस्थापन भएको छैन। नेपालको सामानलाई प्रोत्साहन गर्नको लागि त हाम्रो बजार खुल्ला हुनुपर्ने हो तर त्यो छैन। किनभने बाहिरबाट ल्याएका सामान सस्तो हुन्छ, नेपालभित्रै उत्पादन भएको सामान महँगो हुन्छ भन्ने सन्देश बाहिर गएको छ। बजार व्यवस्थापन पनि मुख्य चुनौतीको रूपमा देखा परेको छ,’ उनले अगाडि भनिन्,‘यस्ता कुराहरूलाई मन्थन र गन्थन गरेर निचोड निकाल्न सकिन्छ की भनेर हामी क्रियाशील भएका हौँ। व्यवसायीहरूलाई विचलित हुन नदिन हाम्रो प्रयास हो। व्यवसायीहरूलाई पलायन हुन नदिन नीतिगत सुधार गरेर अघि बढ्न कांग्रेसले मात्र सक्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने छ।’
उनले कुनै उद्योग खोल्नको लागि सरकारी, निजी बैङ्कले कारखाना धितो राखेर लोन दिने हो भने स्वतन्त्र भएर काम गर्न पनि बताइन्। व्यवसाय फस्टाउनको लागि नीतिको आवश्यक हुने हुँदा कतिपय कुरामा नीतिले नै समस्या पारिरहेको पनि उनको भनाई छ। उनले कांग्रेसको अबको मूल एजेन्डा आर्थिक रूपान्तरण हुनुपर्ने र त्यसका लागि उद्योगीहरूलाई सहज वातावरण बनाउनुपर्ने रहेको उल्लेख गरिन्।