तेस्रो संस्करणको पीएफसी इमर्जिङ कप–२०८१ क्वाटर फाइनल खेलहरू आज (मङ्गलवार) बाट सुरु हुँदै छन्।
क्वाटर फाइनल खेल अन्तर्गत आज दुई खेल हुने छन्। पहिलो क्वाटर फाइनलमा दिउँसो १ बजे आदिकवि भानुभक्त माध्यमिक विद्यालय र पारिजात इङ्ग्लिस बोर्डिङ स्कुल खेल्ने छन्। प्रतियोगिताको पहिलो क्वाटर फाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। पारिजात इङ्ग्लिस बोर्डिङ स्कुलले पहिलो संस्करणको विजेता सोमाङ जीव एकेडेमीलाई  हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो। आज नै दोस्रो खेलमा ३ बजे अमर माध्यमिक विद्यालय र नारायणी पब्लिक स्कुल प्रतिस्पर्धा गर्न कार्यक्रम संयोजक सुमन सापकोटाले जानकारी दिए। आजको खेलमा जित निकाल्ने टोली उपाधि होडका लागि बलियो दाबेदार मानिनेछ।
क्वाटर फाइनलका लागि अरूणोदय माध्यमिक  विद्यालय, शोमेश्वर माध्यमिक विद्यालय, नारायणी नमुना माध्यमिक विद्यालय र स्टेप बाइ स्टेप सेकेन्डरी स्कुल पनि प्रवेश गरेका छन्। बुधवार यी टिमले प्रतिस्पर्धा गर्नेछन्। जसअनुसार पहिलो खेल अरूणोदय माध्यमिक विद्यालय र नारायणी नमुना माध्यमिक विद्यालय बिच हुनेछ भने स्टेप बाइ स्टेप सेकेन्डरी स्कुल र शोमेश्वर माध्यमिक विद्यालय बिच दोस्रो खेल हुने सापकोटाले बताए।
शिक्षासँग खेलकुद जोड्ने उद्देश्यका साथ नयाँ खेलाडीहरूको पहिचान गर्न पीएफसी इमर्जिङ कप आयोजना हुँदै आएको छ। पटिहानी फुटबल क्लबको आयोजनामा सुरु भएको यो प्रतियोगितामा यस पटक चितवनका १६ विद्यालयहरू सहभागी थिए। खेल भरतपुर–१४ को सुन्दर बस्ती खेलमैदानमा माघ १२ गते सम्म हुने छ।
प्रतियोगिताको विजेताले १० हजार नगदसहित ३० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री पाउने छन्। यस्तै उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव सुमन पौडेलले जानकारी दिए। अनुशासित टिमलाई ५ हजार बराबरको खेलकुद सामग्रीसहित सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल सुजसहित प्रमाण पत्र र पुरस्कारको व्यवस्था गरिएको छ।
पटिहानी फुटबल क्लबले स्थापनादेखि नै नयाँ खेलाडी उत्पादनका लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ। यसअघि क्लबले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेर खेल र शिक्षालाई जोडेको थियो। शिक्षासँग खेलकुद जोड्न विद्यालयबीचको यस अघिका इमर्जिङ कपका संस्करणहरू निकै उपलब्धिमूलक भएकाले यसको निरन्तरता गरिएको क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले जानकारी दिए। यो प्रतियोगिताको प्रवर्द्धकका रूपमा भरतपुर महानगरपालिका वडा नम्बर १४ र २२ रहेका छन्।