बेलबारीबाट नौ महिना अघि हराएको एक मोटरसाईकल विराटनगरमा फेला परेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले शुक्रबार उक्त मोटरसाईकलका धनी राजकुमार धिमाललाई हस्तान्तरण गरेको छ।

कालो रंगको को ३० प ४६३६ नम्बरको मोटरसाईकल गत वर्ष बेलबारीस्थित उद्योग वाणिज्य संघको कार्यालय परिसरबाट चोरी भएको थियो। ट्राफिक प्रहरीले नियमित चेकजाँचको क्रममा एक व्यक्तिसँग मोटरसाईकलको ब्लुबुक माग गर्दा उपलब्ध गराउन नसकेपछि थप अनुसन्धान गरेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालका अनुसार यातायात कार्यालयमा बुझ्दा उक्त मोटरसाईकल अर्कै व्यक्तिको नाममा दर्ता भएको खुलेको थियो।

'यति लामो समयपछि मोटरसाईकल भेटिने आशा थिएन। प्रहरीले फेला पारेर खबर गर्दा धेरै खुसी लाग्यो,' मोटरसाईकल फेला परेपछि खुसी व्यक्त गर्दै धिमालले भने प्रहरीले आवश्यक कागजपत्रसहित सवारी साधन धनीलाई जिम्मा लगाएको छ।