निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सन मोरङ जिल्ला अध्यक्षमा जगत बहादुर बस्नेत विजयी भएका छन्। 
विराटनगरमा शुक्रवार राति सम्पन्न १६ औं जिल्ला अधिवेशनबाट ११० मत प्राप्त गर्दै बस्नेत अध्यक्ष निर्वाचित भएका हुन्।
निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र सुवेदीलाई १७ मतान्तरले पराजित गर्दै बस्नेत प्याब्सनको जिल्ला नेतृत्वमा पुगेका छन्।
अन्तिम मत परिणाम अनुसार सुवेदीले ९३ मत ल्याए। बस्नेत र सुवेदी प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए। प्याब्सनको जिल्ला अध्यक्षमा सुवेदी पराजित भए पनि कार्यसमितिमा उनको प्यानलको बहुमत छ।
प्याब्सन मोरङको वरिष्ठ उपाध्यक्षमा मोहन बुढाथोकी निर्वाचित भएका छन्। १०६ मत प्राप्त गर्दै बुढाथोकी वरिष्ठ उपाध्यक्ष निर्वाचित भइरहँदा उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कँडेलले ९६ मत ल्याएका थिए।
बुढाथोकी सुवेदीको प्यानलबाट उम्मेदवार बनेका थिए। उपाध्यक्षमा विष्णु डंगोल निर्वाचित भएका छन्। बस्नेत प्यानलका डंगोलले १ सय ४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी भूपाल बस्नेतले ९९ मत ल्याए।
सचिवमा सुवेदी प्यानलका देवी सिटौला निर्वाचित भएका छन्। उनले १०६ मत ल्याउँदा प्रतिस्पर्धी बस्नेत प्यानलका विकर्ण कार्कीले ९७ मत प्राप्त गरे।
कोषाध्यक्षमा मणिराज भट्टराई निर्वाचित भएका छन्। प्रतिस्पर्धी नगेन्द्रप्रसाद ढकाल (विवेक) सँग बराबरी १०१–१०१ मत ल्याएपछि गोला प्रथाबाट भट्टराई विजयी भएका हुन्। भट्टराई बस्नेत र ढकाल सुवेदी प्यानलबाट उम्मेदवार थिए।
सह–सचिवमा सुवेदी प्यानलका दीपेन्द्र राई (दिपेन) निर्वाचित भएका छन्। राईले १ सय ९ मत प्राप्त गर्दा प्रतिस्पर्धी बस्नेत प्यानलका मनोज रेग्मीले ९२ ल्याए।