सार्वजनिक लेखा समितिका सभापति तथा नेकपा एमाले मोरङका निवर्तमान अध्यक्ष ऋषिकेश पोखरेल सहकारीपछि स्वकीय सचिव प्रकरणमा विवादमा तानिएका छन्।
उनलाई पार्टीका नेताहरुले स्वकीय सचिवमा अनिल पोखरेललाई नियुक्त गर्दा फसाउन सक्ने सङ्केत भने पहिल्यै गरिसकेका थिए। तर, पनि उनले नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिल पोखरेललाई नै छानेका थिए।
पोखरेलकी पत्नी अञ्जना कोइराला मोरङको उमागौरी सहकारीको रकम अपचलनको आरोपमा फरार रहेकै बेला पोखरेलका स्वकीय सचिवसमेत अर्को ठगी प्रकरणमा जोडिएका हुन्।
सप्तरीको अग्नि साई र कृष्ण शबर वन गाउँपालिका-५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीको छोरी दीक्षा चौधरीलाई एमबिबिएसमा नाम निकालिदिने भन्दै मोरङ रङ्गेली नगरपालिका-२ मङ्गलबारेका ४३ वर्षीय पोखरेलले ३८ लाख ८० हजार रुपैयाँ लिएर ठगेको घटना बाहिरिएको छ।
स्वकीय सचिव पोखरेलले राजनीतिक शक्तिको आडमा ठगी धन्दा चलाउँदै आएको दाबी गरिएको छ। तर, धेरै प्रकरण गुपचुपमा रहने गरेका थिए। उनी विरुद्ध पछिल्लो ठगीमा समेत प्रहरीले जाहेरी लिन नमानेपछि पीडितले अदालतको परमादेश सहारा लिनु परेको हो। जाहेरी दर्ता गर्नबाट प्रहरीलाई रोक्न सभापति पोखरेल नै लागेको भन्ने समेत चर्चा चलिरहेको छ।
पोखरेलविरुद्धको जाहेरी दर्ता गरी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङका नाममा उच्च अदालतबाट परमादेश जारी भइसकेको छ। समिति सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेको बताएका छन्। उनीमाथि लागेको आरोपमा अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुने गरी निष्कासन गरेको बताएका छन्।
उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले अनिलकुमार पोखरेलविरुद्ध जाहेरी दर्ता गरी कानुनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको छ।