स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाले नेपालको स्वास्थ्य क्षेत्रमा राहत दिए पनि आवश्यकता अनुसारको काम गर्न नसकेको बताएका छन्।
शुक्रवार, स्वास्थ्य बिमा क्षेत्र सुधार गर्नका लागि गठित सुधार समितिको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिएको तर यो आंशिक मात्र भएको बताएका हुन्।
उनले भने, ‘नेपालको स्वास्थ्य बिमाको बारेमा धेरै खाले विषयहरू हामीले देखिरहेका छौँ। विद्यमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत केही सुविधाहरू उपलब्ध गराएको छ। तर यो आंशिक मात्र छ आवश्यकता अनुसारको छैन। व्यवस्थित छैन लक्षित समूहले पूर्णरुपमा लाभ लिने गरी यो अघि बढ्न सकेको छैन।’
मन्त्री पौडेलले बिमालाई व्यवस्थित बनाउन नीति, योजना जरुरी भएकोले यस बारेमा अध्ययन गरिरहेको बताए।
उनले भने, ‘यिनै कुरालाई महसुस गरेर हामीले आम नागरिकलाई स्वास्थ्य क्षेत्रमा सेवा सुविधा उपलब्ध हुने गरी नागरिकको खल्तीबाट जुन खर्च भएको छ त्यो खर्च नहुने स्थिति निर्माण गर्नको लागि स्वास्थ्य क्षेत्रमा सबैको पहुँच युनिभर्सल कभरेजको नीतिका अनुसार यसलाई व्यवस्थित गर्नको लागी हामीले काम अघि बढाउन खोजिरहेका थियौँ त्यस सन्दर्भमा कस्ता नीतिहरू अवलम्बन गर्न जरुरी छ कस्तो योजना बनाउन जरुरी छ भन्ने बारेमा अध्ययन गरेर अब बिमालाई व्यवस्थित बनाउन पर्छ।’