नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सत्ताभन्दा बाहिर जाँदा सबै भन्दा बढी पवित्र हुने र सत्तामा हुँदा त्यसलाई बिर्सने खालको परिस्थिति निर्माण भएको बताएका छन्। 
शुक्रवार काठमाडौँमा आयोजित पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले एकले अर्कोलाई दोष लगाउने खेलहरू भइरहेको भन्दै भ्रष्टाचार नियन्त्रणको लागि एउटा निश्चित मापदण्ड बनाउन आवश्यक रहको बताएका हुन्। 
उनले भने, ‘हामीले धेरै ब्लेम गेमहरु गर्‍यौँ। एकले अर्कोलाई दोष लगाउने। अर्कोले अर्कोलाई दोष लगाउने। जब सत्ताभन्दा बाहिर गयो सबै भन्दा बढी पवित्र हुने सत्तामा हुँदा जो भए पनि त्यसलाई बिर्सने खालको जुन स्थिति छ। त्यसलाई एउटा निश्चित मापदण्ड बनाऊ भ्रष्टाचार नियन्त्रणको लागि।’
उनले शासनको पहिलो सर्त भ्रष्टाचारमुक्त समाज रहेको भन्दै जबसम्म भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिँदैन तबसम्म सुशासन कायम नहुने बताए। 
वर्तमान समयमा सुशासनको सट्टा दुःशासनको परिवेश निर्माण भएको पनि उनको भनाई छ। 
उनले भने, ‘हामी सुशासनको नाममा निरन्तर भक्ति त प्रदर्शन गरिरहेको छौँ, तर सुशासनको पहिलो र प्रमुख सर्त भनेको भ्रष्टाचारमुक्त समाज हो। जबसम्म भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिँदैन तबसम्म सुशासन कायम हुन्दैन। त्यो सुशासनको सट्टा दुःशासनको परिवेश निर्माण भएको अवस्था छ।’
सबै भ्रष्टाचारका फाइलहरु खोल्ने भन्दा पनि जे जति चर्चामा छन्त्यो, फाइलहरूलाई पहिला टुङ्गो लगाउन आवश्यक रहेको उनको भनाई छ।  
त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिले निर्णायक, स्टेक होल्डरका रूपमा अग्र मोर्चामा उभिएको शक्ति भनेकै नेपालका पत्रकारहरू रहेको बताए। मिडिया क्षेत्रलाई अझ व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि श्रमजीवी पत्रकारहरूको हकका लागि काम गर्न महासङ्घले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ। 
उनले भने, ‘विद्यमान शासकीय प्रणालीमा हामी जसरी उभिएका छौँ। यसको लागि एउटा निर्णायक, स्टेक होल्डरका रूपमा अग्र मोर्चामा उभिएको शक्ति कोही हो भने त्यो नेपालका पत्रकारहरू हुन्। मिडिया क्षेत्र हो, यसलाई अझ व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि श्रमजीवी पत्रकारहरूको हकका लागि काम गर्न महासङ्घले भूमिका खेल्नु पर्नेछ।’
त्यस्तै, मिडियाकर्मीहरूको आर्थिक, भौतिक, सामाजिक सुरक्षा नभएको भन्दै त्यसको लागि पनि महासङ्घले काम गर्न आवश्यक रहेको उनको भनाई छ। 
उनले भने, ‘आज समाजमा यो क्षेत्रका धेरै चुनौतीहरू पनि छन्। जनतालाई साँचो अर्थमा सत्य सूचना प्रवाह गर्ने महत्त्वपूर्ण दायित्व तपाईँहरूको काँधमा छ। मिडियाकर्मीहरूको आर्थिक, भौतिक, सामाजिक सुरक्षा छैन, यसको लागि पनि महासङ्घले काम गर्नुपर्छ।’
सोही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पहिलो मुद्धाको रूपमा श्रमजीवी पत्रकारहरूको हक हित नै हेरेको भन्दै निष्पक्ष ढङ्गले त्यसैमा लागेर काम गर्ने बत्ताइन्। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने कुनै पनि तत्त्वसँग सहकार्य नगर्ने उनले प्रतिबद्धता जनाइन्। 
उनले भनिन्, ‘म स्वतन्त्र रूपमा काम गरिरहेको हुनाले मैले कसैको नुन खाको छैन। यस कारण पहिलो मुद्धा भनेको श्रमजीवी पत्रकारहरूको हक हित नै हो। यसमा कुनै खालको आशङ्का गर्नु पर्दैन। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने कुनै पनि तत्त्वसँग हाम्रो सहकार्य हुदैँन।’
उम्मेदवार हुने क्रममा धेरै आरोपहरू पत्रकारमाथि नै लाग्ने गरेको भन्दै महासङ्घमा पक्ष र विपक्ष भएर लडे पनि अब पत्रकार महासङ्घ जिल्ला, सबै देशभरका शाखा र केन्द्र एउटा छातामुनि बसेर काम गर्ने उनको भनाई छ।
उनले भनिन्, ‘उम्मेदवार हुने क्रममा अथवा बन्ने क्रममा धेरै आरोपहरू पत्रकारमाथि लाग्छ। अब त्यो कुराहरू सक्यो पत्रकार महासङ्घमा पक्ष र विपक्ष भएर लडे पनि अब पत्रकार महासङ्घ जिल्ला, सबै देशभरका शाखा र केन्द्र एउटा छातामुनि छौ हाम्रो पक्ष विपक्षको मत सक्यो।’