नेपाल सरकारले सन् २०२४ मा लक्ष्य अनुसार पर्यटक नेपाल भित्र्याउन नसकेको तथ्याङ्कले देखाएको छ। हालै मात्र अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ लाख ४७ हजार मात्र पर्यटक नेपाल आएका छन्।
सरकारले पछिल्लो समय १३ लाख १५ हजार विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको थियो। तर त्यो लक्ष्य अनुसार सरकारले ११ लाख ४७ हजार मात्र पर्यटक भित्र्याएको छ। जसमा १ लाख ९६ हजार ८ सय जना पर्यटक अपुग हुँदा सरकारको लक्ष्य पूरा नभएको हो।
आर्थिक वर्ष २०८१/८२ मा कम्तीमा पनि १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको थियो। तर, सन् २०२४ मा आएका विदेशी पर्यटकको सङ्ख्या हेर्दाखेरि सो लक्ष्य पूरा हुन नसक्ने देखिएको छ।
सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजार ५ सय ३३ जना विदेशी पर्यटक नेपालको भ्रमण गर्न आएका थिए। सन् २०२४ को अन्तिम महिना अर्थात् डिसेम्बरको ३१ तारिखसम्ममा ९५ हजार चानचुन विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् भने सन् २०२४ को नोभेम्बर महिनामा १ लाख १४ हजार ५ सय १ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।
जनवरी महिनामा ७९ हजार १ सय, फेब्रुअरीमा ९४ हजार ४ सय २६, मार्चमा १ लाख २८ हजार १ सय ६७, अप्रिलमा १ लाख ११ हजार ३ सय ७६, मेमा ९० हजार २ सय ११, जुनमा ७६ हजार ७ सय ३६, जुलाईमा ६४ हजार ५ सय ९९, अगस्टमा ७२ हजार ७ सय १९, सेप्टेम्बरमा ९६ हजार ३ सय ५ जना, अक्टोबरमा १ लाख २४ हजार ३ सय ९३, नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ जना र डिसेम्बरमा लगभग ९५ हजार पर्यटक नेपाल आएका थिए।
यसरी तथ्याङ्क हेर्दाखेरि सन् २०२४ डिसेम्बर ३१ को बिहानसम्ममा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको सङ्ख्या ११ लाख ४७ हजार पुगेको छ।