नदीजन्य पदार्थ उत्खनन र निकासीको लागि आइ(वातावरणीय प्रभाव मूल्याङ्कन) गर्न आवश्यक सिफारिस नदिएको भन्दै व्यवसायीहरुले डिभिजन वन कार्यालय लहान अगाडि ट्याक्टर तेर्साएर अवरोध गरेका छन्।
बिहीबार बिहान १० बजेदेखि कार्यालय परिसरमा छेकिएका डिभिजनले वन अधिकृत शैलेन्द्र मिश्रलगायत अन्य कर्मचारीहरु बेलुका ३ बेसम्म बाहिर निस्कन पाएका छैनन्।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा लहानमा हुने कार्यालय प्रमुखहरूको साप्ताहिक बैठक इलाका प्रहरी कार्यालय लहानमा भाग लिन वन अधिकृत मिश्र जान पाएनन्। उनलाई ट्याक्टर व्यवसायीहरुले कार्यालयबाट बाहिर निस्कनै दिएनन्। 
वन अधिकृत मिश्रले सिरहाका प्रहरी उपरीक्षक रमेश पण्डित र प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई फोन गरेर आफ्नो कार्यालय अगाडिको अवरोध हटाउन बारम्बार अनुरोध गर्दै थिए। सशस्त्र प्रहरी लहान र वडा प्रहरी कार्यालय लहानका सुरक्षाकर्मीहरूले अनेक प्रयत्न गरे पनि दिउसो ३ बजेसम्म जिल्ला वन कार्यालय वरपरको जाम हटाउन सकेनन्। 
दर्जनौँ ट्रयक्टरले गौडा छेकेको कारण डिभिजनले वन कार्यालय, लहान नगरपालिका, जिल्ला घरेलु उद्योग कार्यालय, इलाका प्रशासन कार्यालय, लहान प्राविधिक स्कुल, भूसंरक्षण कार्यालयलगायत एक दर्जन कार्यालयहरूमा सेवाग्राहीहरू छिर्न पाएनन्। लहान क्याम्पस जाने र आउने विद्यार्थीहरूले पनि वैकल्पिक सडक प्रयोग गर्नुपर्‍यो। 
डिभिजनले वन कार्यालय लहान र लहान नगरपालिका बीच बलान, सर्रे र खुट्टी खोला ठेक्का लगाउने विषयमा एकमत हुन नसक्दा तनावको स्थिति पैदा भएको छ। दुबै कार्यालयका जनप्रतिनिधि र अधिकृत स्तरका कर्मचारीहरु बीच मनोमालिन्यको स्थिति मात्र सृजना भएको छैन गाली गलौज र आरोप प्रत्यारोप पनि हुन थालेको छ। 
लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा,‘भन्छन् हामीले डिभिजनले वन कार्यालयलाई सात वटा पत्र लेखिसक्यौँ। जस्तो ब्यहोरा खुलाउन भनियो त्यसैगरी लेखिदियौँ। वन अधिकृतले अर्घे ल्याई गरेर नगरपालिकाको काम रोकेका छन्।’ 
‘कानुन बमोजिम दिनुपर्ने सिफारिस रोक्न पाइन्छ ?’ झाले प्रतिप्रश्न गरे। उनले भने, ‘काम त प्रदेश मन्त्रालयले गर्ने हो। तर डिभिजनले वन कार्यालयले एउटा पत्र लेखिदिनुपर्ने हो। सकारात्मक वा नकारात्मक जे भए पनि लेखिदिनुस् भनेर मेयरसावले अनुनय विनय गर्नुभयो। मैले पनि आग्रह गरे। थप केही चाहिए भन्नुस् हामी सेवा गर्छौ पनि भने। प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई पनि भन्न लगायौँ । तर पनि सुनुवाइ गर्दैनन्। अब उनले कुटाई खान मात्र बाँकी छ। वन अधिकृत मिश्रको हठका कारण सर्रे, खुट्टी र बलान तीन वटै नदी अहिलेसम्म ठेक्कापट्टाको प्रक्रियामा जान सकेको छैन। नगरपालिकाको राजस्वको स्रोत नै सुकेको छ।’
प्रमुख प्रशासकीय अधिकृत झा,‘भन्छन् हामीले नदी ठेक्का लगाउन पाएका छैनौ। उता डिएफओ मिश्रले आफ्ना वनपालेहरु लगाएर प्रति ट्याक्टर पाँच सयका दरले नाजायज असुली गरिरहेका छन्। दिनभरि कार्यालयमा बस्दैनन्। कथित फिल्ड घुमेको छु भन्दै असुलीमा जान्छन्।’ 
यता डिभिजनले वन अधिकृत  मिश्र भन्छन्, ‘मैले मेरो हातमा हतकडी लगाइ माग्ने स्थिति त सृजना गर्नु भएन। कानुनले नमिल्ने सिफारिस म कसरी दिन सक्छु। जहाँ वन क्षेत्र पर्छ, जहाँबाट नदीजन्य पदार्थ झिक्न मिल्दैन, त्यहाँ त्यहाँ उल्लेख गरेर सिफारिस मागेका छन्। त्यस्तो आइ गर्न कसरी सिफारिस दिन सकिन्छ र ? नाजायज दबाब दिन ट्याक्टर व्यवसायीहरूलाई हाम्रो कार्यालय घेराउ गर्न पठाएका छन्। यो सबै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झाद्वारा प्रायोजित घेराउ हो,’ मिश्र थप्छन्,‘कानुन बमोजिम बाहेक म सिफारिस दिन सक्दिन। म झुक्दिन।’
लहान नगरपालिका र डिभिजनले वन कार्यालय बीचको द्वन्द्वका कारण प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल र प्रहरी प्रमुख पण्डित पनि किंकर्तव्यविमुख भएका छन्। के गर्ने के नगर्नेको अवस्था सिर्जना भएको छ। 
यता बलान, सर्रे र खुट्टी नदी ठेक्का लाग्न नसक्दा नगरपालिकाको राजस्वमा ह्रास आएको छ। गिट्टी र बालुवा आपूर्ति बन्द हुँदा लहानमा निर्माण कार्यहरू पनि प्रभावित भएको छ। ट्याक्टर व्यवसायी विन्देस्वर पासवान भन्छन्, ‘लहानमा करिब दुई सय ट्याक्टर र उत्खननमा काम गर्ने दुई हजार मजदुरको रोजगारी खोसिएको छ। त्यस कारण डिभिजनले वन कार्यालय घेराउ गरेका छौँ। निर्णय नभएसम्म घेराउ हट्ने छैन।’