लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कोशी राजमार्गमा आवतजावत गर्ने यात्रु बाहक बस तथा माल बाहक सवारी साधनका चालकहरू लागुऔषध सेवन गरी सवारी साधन चलाउने गरेको सूचनाका आधारमा मङ्गलबार प्रहरीले चेकजाँच गरेको हो।
पक्राउ पर्नेहरूमा मोरङको बेलबारी नगरपालिकाका २६ वर्षीय उज्ज्वल श्रेष्ठ, कानेपोखरी गाउँपालिकाका ४६ वर्षीय श्याम चौधरी, उर्लाबारी नगरपालिकाका २२ वर्षीय भुवन न्यौपाने, झापा गौरादह नगरपालिकाका ३९ वर्षीय हरिबहादुर ठकुरी, कन्काई नगरपालिकाका ३५ वर्षीय रूपलाल ऋषिदेव, मेचीनगर नगरपालिकाका १९ वर्षीय सुमन वि.क, उदयपुरको त्रियुगा नगरपालिकाका २८ वर्षीय किरण थापा, २२ वर्षीय राहुल राई रहेका छन्।
यस्तै, सुनसरीको धरान उपमहानगरपालिकाका २१ वर्षीय अमिन राई, इटहरी उपमहानगरपालिकाका २० वर्षीय समिर मगर, ४१ वर्षीय कृष्ण सुवेदी, २८ वर्षीय सुबोध चौधरी र ४१ वर्षीय दीपक घले गुरुङ रहेका छन्।
कोशी प्रदेश प्रहरी अस्पतालबाट खटिएका चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा उनीहरूले लागूऔषध मर्फिन र मारिजुएना सेवन गरेको पाइएको सुनसरी प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिएकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।