गृहमन्त्री रमेश लेखकले शेरा दरबारको जग्गा सम्बन्धी विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको भन्दै कानुन बमोजिम कारबाही अगाडि बढाउने बताएका छन्। 

बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘गैर कानुनी ढङ्गले गएको फिर्ता हुन्छ तपाई सरकारलाई धन्यवाद दिन तयार भएर बस्नु’ भन्दै जवाफ दिएका हुन्।

उनले भने,‘शेरा दरबारको जग्गा सम्बन्धी विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ। अनुसन्धान हुन्छ। र कानुन बमोजिम कारबाही अगाडि बढ्छ। यदि त्यो जग्गा गलत ढङ्गले कसै व्यक्ति, कम्पनीका नाममा गएको भने त्यो फिर्ता हुन्छ। पूर्व प्रधानमन्त्री प्रचण्ड जीले यदि गैर कानुनी ढङ्गले गएको छ भने त्यो फिर्ता हुनुपर्छ भन्नु भएको छ। उहाँले सरकारलाई धन्यवाद दिन तयार भएर बस्नुभएको छ । तपाई सरकारलाई धन्यवाद दिन तयार भएर बस्नु भए हुन्छ। सरकारले यसमा गर्नुपर्ने काम गर्छ। धन्यवाद लिन्छ।’

प्रचण्ड कारबाही भोग्न तयार

बैठकमा प्रचण्डले राज्यको जमिन व्यक्तिको नाममा गएको छ र छानबिन गर्दै जाँदा प्रचण्ड नै देखिएको छ भने पनि छानबिनको दायरामा ल्याउन आग्रह गरेका थिए।

उनले आफूले ललिता निवासको जग्गा सरकारको नाममा फिर्ता गरे जस्तै शेरा दरबारको जग्गा पनि फिर्ता ल्याएमा सहयोगका साथै सरकारलाई धन्यवाद पनि दिने बताए। 

उनले भने,‘राज्यको र सरकारको जमिन कुनै व्यक्तिको नाममा गर्छ भने जो कोही होस् कानुन बमोजिम ल्याउनुपर्छ। यदि छानबिन गर्दै जाँदा प्रचण्ड नै देखा¥यो भने त्यसलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ। दोषीलाई कारबाही गरियोस् सरकारलाई सहयोग गर्न म तयार छु भनेकै छु। कानुन विपरीत काम भएको छ भने जसरी ललिता निवासको कयौँ रोपनी जग्गा सरकारको नाममा ल्याइयो त्यसरी नै शेरा दरबारको पनि भयो भने जग्गा पनि म सरकारलाई लागि सहयोग मात्र होइन धन्यवाद पनि भन्नेछु।